मधेशका जिल्लामा किशोरी छात्राहरू विद्यालयबाट बाहिरिने समस्या उच्च देखिएको छ । आधारभूत तहपछि छात्राहरूले विद्यालयको पढाई छोड्ने दर तीव्र रुपमा बढेको देखिन्छ । यसले माध्यमिक तहमा छात्रा र छात्रको लैङ्गिकअन्तर झन फराकिलो बनेको छ । मुख्य रुपमा गरिबी र दाइजो प्रथाका कारण मधेशमा छोरीलाई कम पढाउने गरिन्छ । छोरीलाई बढी पढाएमा धेरै पढेलेखेको केटा खोज्नुपर्ने र बढी पढेलेखेको केटासँग विवाह गर्न दाइजो बढी दिनुपर्ने भएपछि छोरीलाई पढाई छुटाएर सानै उमेरमा विवाह गरिदिने चलन छ । यो सामाजिक समस्याका कारण छात्राले विद्यालय छोड्ने क्रम नरोकिएको हो । विगतको तुलनामा यसमा सुधार आए पनि अपेक्षित उपलब्धि देखिएको छैन । यसका आलावा स्वास्थ्य, श्रम, सामाजिक संरचना, घरेलु काम, महिनावारीमैत्री विद्यालयको अभावलगायतका कारणले छात्राहरू विद्यालयको शिक्षाबाट वञ्चित भइरहेका छन् । यसरी विद्यालय छोडेका छात्रा वैवाहिक दबाब, घरेलु श्रम र अनौपचारिक क्षेत्रको श्रम शोषणमा परिरहेको तथ्य छ । यस्ता कारणहरूको पहिचान त भएको छ, तर समाधानमा प्रभावकारी कदम चालिएको छैन । तहगत सरकारले शिक्षामा ठूलो धनराशी खर्च गरेका छन् । शिक्षा क्षेत्रमा भइरहेको लगानीको अपेक्षित उपलब्धि देखा परेको छैन । मधेशमा छोरीलाई शिक्षामा अगाडि बढाउने उद्घोषका साथ ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम लागू भएको थियो । छोरीलाई माध्यमिक तहसम्म टिकाइराख्ने उद्देश्यले मधेशका आठै जिल्लामा ८ कक्षाभन्दा माथिका छात्रालाई साइकल बाँड्ने अभियान नै चलाइएको थियो । तर, त्यही कार्यक्रम भ्रष्टाचारमा मुछियो । मधेश प्रदेशमा छात्राको विद्यालय छोड्ने प्रमुख कारणहरूको तथ्यपरक विश्लेषण आवश्यक छ । अध्ययन बीचैमा छोडेका छोरीहरू परनिर्भर हुँदा अनेक खालका हिंसाको शिकार हुनु परेका घटना सार्वजनिक भइरहेका छन् । विद्यालय छोडेपछि किशोरीहरूको जीवन, विवाह, श्रम, स्वास्थ्य र भविष्यमा परेका प्रभावहरूको विश्लेषण भएमा छोरीलाई पढाएर आत्मनिर्भर बनाउनु पर्दछ भन्ने चेतना जागृत हुन सक्दछ । यसका सामाजिक–आर्थिक, सांस्कृतिक र राजनीतिक कारणहरू उजागर हुनु पर्दछ । मधेशमा छात्रा शिक्षाबारेमा तहगत सरकार, विद्यालय, अभिभावक तथा समुदायको भूमिकामा पुनरावलोनको खाँचो खट्किएको छ । छात्रा शिक्षाबारे परिवार, समुदाय र विद्यालयको दृष्टिकोण, मधेशमा विद्यमान गरिबी, बालविवाह, बालश्रम र दाइजो प्रथाले शिक्षामा पारेको बाधा, विद्यालय छोडेका किशोरीहरूको जीवनमा देखिएको परिवर्तनबारे मिहीन समीक्षा हुनु पर्दछ । छोरी शिक्षाको अवस्था सुधार्न तहगत सरकारका नीति नियम र तिनको प्रभावकारिताको विश्लेषण जरुरी छ । प्रस्तुत छ, यसै सन्दर्भमा मध्य नेपालका लागि कमला भण्डारीले सरोकारका पक्षसँग गरेको कुराकानीको सम्पादित अंश :
आनन्द लामिछाने(प्रमुख)
शिक्षा शाखा, वीरगञ्ज महानगरपालिकादुःखदायी र सामाजिक रुपमा निन्दनीय
मधेश प्रदेशमा छात्राहरूको विद्यालय छाड्नेको दर विगतभन्दा कमी भए पनि अझै पनि यो दर कायम नै रहनु दुःखद कुरा हो । यसका पछाडि मुख्यतः अझै पनि छात्राहरूलाई आत्मनिर्भर र सक्षम बनाउनु पर्छ भन्ने आम मानसिकता सबल हुन नसक्नु नै हो । साथसाथै मधेश प्रदेशमा कतिपय धार्मिक तथा परम्परागत प्रचलनका कारणबाट पनि महिलाहरूलाई उच्च शिक्षामा पहुँच हुन सकेको देखिँदैन । जसले गर्दा उनीहरू विद्यालय पढ्ने उमेरमा नै विवाहवारी गर्ने तथा पढाई छाड्ने गरेको देखिन्छ । वास्तवमा छात्राहरू बीचैमा विद्यालय छाड्नु आँफैमा अत्यन्तै दुःखदायी मात्र होइन, सामाजिक रुपमा नै निन्दनीय पनि छ । यसको निरुपणका लागि सम्बद्ध सबै सरोकारवालाहरूले छात्रामैत्री विद्यालय (भौतिक तथा शैक्षिक) वातावरणको निर्माणमा जोड दिनुका साथसाथै हरेक घरपरिवारले छात्राहरूको समृद्धिबाट नै परिवार, समाज र राष्ट्रको समृद्धि सम्भव छ भन्ने यथार्थ उजागर गर्न सक्नु पर्दछ । छात्राहरूलाई विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने कुरामा हरेक अभिभावक, समाज, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसम्म उत्तिकै जवाफदेही र जिम्मेवार बनी ‘छात्रामा लगानी, राष्ट्रको सुनौलो बिहानी’ भन्ने तथ्य व्यावहारिक रूपमा कार्यान्वयन गर्नका लागि छात्रालाई गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न उपयुक्त लगानीका क्षेत्रहरू पहिचान गर्दै उनीहरूको आर्थिक सबलीकरण र आत्मनिर्भरतामा अभिवृद्धि गर्नु आजको प्रमुख आवश्यकता हो ।
दीपक शाक्य (उपकुलपति)
मधेश विश्वविद्यालय छोरीलाई आत्मनिर्भर बनाउनु पर्छ
पुरानो अवधारणा छोरी पराया धन, छोरा बुढेस कालको लाठी भन्ने परम्परा अहिले पनि विद्यमान नै छ जसको कारण छोरीहरूमाथि अभिभावकले गर्न चाहँदैन । विद्यायलमा पढ्दापढ्दै बालविवाह गरिदिने र घरयासी कामको लागि घरमा नै राख्, तर पढ्न नपठाउने गरेको पाइन्छ । छोरीलाई धेरैं पढायो भने उमेर पनि ठूलो हुन्छ । केटा पाउन गार्हो हुन्छ र दाइजो पनि पढेको केटालाई बढी दिनुपर्छ भन्ने डर अभिभावकलाई हुने भएकोले छिटो विवाह गरिदिन्छन् । विवाह पछि ति छोरी पढ्न पाउँदिनन् । गरिबीका कारण आमाबुबा बाहिर काम गर्न जाने र छोरीलाई घरको काम र जिम्मेवारी थोपरिदिने भएकाले विद्यालबाट ड्रप आउट हुने गर्दछन् । टाढाटाढा विद्यालय भएकाले छात्राहरू आउनजान गाह्र्रो हुने, सुरक्षा प्रत्याभूति हुन नसक्दा, छात्रामैत्री विद्यालयको कमी हुनु, आमाबाबुहरू अशिक्षित भएको कारणले छोरीलाई पढाएर आत्मनिर्भर बनाउनु पर्छ भन्ने सोच नहुँदा पढ्नबाट बञ्चित हुन पुगेका छन् । छोरीहरूलाई पढाउन उत्प्रेणामूलक नीति, नियम, कानून तथा निर्देशिकाको अभाव भएकोले ड्रप आउट भएको पाइन्छ । सामाजिक अवधारणामा कुरीति भेदभावको अन्त्य गर्नु पर्छ । आमाबाबुहरूलाई छोरासरह छोरीहरूलाई पनि पठाउनु पर्छ भन्ने जनचेतना अभिवृद्धि कार्यक्रम चलाउनु पर्छ । छोरीमैत्री कन्या विद्यालयहरूको स्थापना गर्नु पर्छ । सरकारी विद्यालयहरूमा पनि स्कूल बस सञ्चालन गर्नु आवश्क देखिन्छ । छोरी पढाउने सरकारी नीति नियम कानून तथा निर्देशिका बनाउने र प्रभावकारी रूपमा कार्यान्वयन गरेमा ड्रप आउट हुने दरमा कमी ल्याउन सकिन्छ ।
डा. शुष्मा द्विवेदी (निर्देशक)
सिद्धार्थ इन्टरनेशनल कलेजगरिबी र दाइजो प्रथा मुख्य कारण हो
नेपालका ७७ जिल्लामध्ये मधेश प्रदेशका ८ वटा जिल्ला शतप्रतिशत असाक्षर भएका जिल्ला हुन् । मधेश प्रदेशका छोरा र छोरीहरूको भर्ना हुने समयमा सरकारी, प्राइभेट विद्यालयमा संख्या बराबरी नै हुन्छ । माथिल्लो कक्षा बढ्दै जादाँ छोरीहरू ड्रप आउट हुनेको संख्या बढ्दै जान्छ । एसईईसम्म आइपुग्दा ५० प्रतिशत छोरीहरूको ड्रप आउट भइसकेको हुन्छ । मधेश प्रदेशमा छात्राहरूको विद्यालय छोड्ने दर बढ्नुको कारण गरिबी र दाइजो प्रथा नै हो । आमाबुबाहरूले गरिबीले गर्दा छोरालाई पढाउँदा पनि दाइजो दिनु नपर्ने भएकोले पढाउँछन् । छोरीलाई दाइजो पनि दिनुपर्ने र पढाउन पनि खर्च लाग्ने भएकोले दोहोरो खर्चको सामना गर्नुपर्ने भएकोले आमाबुबाहरूले छोरीहरूलाई विद्यालयमा पढाई छाड्न बाध्य बनाउँछन् । तराईमा पहिलेको तुलनामा बालविवाह धेरै घटेको छ । तर, प्रदेशभरि नै लुकिछिपी बालविवाह भइरहेको छ । बालविवाहको कारणले पनि छोरीहरूले पढाई बीचमा छोड्नु पर्छ । वीरगञ्जको स्थिति हेर्ने हो भने विद्यालयहरू घरभन्दा टाढा हुनुले छोरीहरूलाई महिनावारी भएको समयमा र एक्लै आवतजावत गर्न गाह्रो भएकोले ठूलो भएपछि छोरीहरूलाई विवाह हँुदै गर्दा पढाई छुटाउने गरेको पाइन्छ । मधेश प्रदेशका विद्यालयहरूमा शौचालयको व्यवस्था राम्रो छैन । छोरीहरू महिनावारी हुने भएकाले शौचालयको सुविधा र पानीको सुविधा नहुँदा छोरीहरू निरुत्साहित भएर बीचमा नै पढाई छोड्ने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा गएर हेर्ने हो भने महिला शिक्षिकाहरू नगन्य मात्रामा पाइन्छ । किशोरकिशोरीहरूको मानसिक अवस्था, शारीरिक अवस्थालाई हेर्ने हो भने किशोरीहरू महिला शिक्षिकालाई आफ्नो समस्या राख्न सहज महशुस गर्छन् । महिला शिक्षिकाको अभावमा पनि छात्राहरूले विद्यालय छाडेको पाइन्छ । अभिभावकहरू अहिले पनि पितृसत्तात्मक सोच भएका कारणले अहिले पनि छोरा र छोरीमा कुनै पनि शिक्षा, स्वास्थ्यलगायत अन्य सुविधाहरूमा छोरीलाई विभेद भइरहेको नै छ । समुदायको तल्लोस्तरसम्म आज पनि छोरा र छोरीमा गरिने विभेद दण्डनीय छ भन्ने कुराको जानकारी छैन । जसले गर्दा छोरीहरूलाई कि त विद्यालय नपठाउने, पठाए पनि बीचमा नै विद्यालय छुटाएर विवाह गरिदिने हुदाँ छात्राहरूको ड्रप आउट मधेश प्रदेशमा बढी भएको छ ।
अनिता साह (प्रधानाध्यापक)
राम सुन्दरमल कन्या मा.वि.घरायसी कामले विद्यालयमा उपस्थिति कम
मधेश प्रदेशमा बेटी बचाऊ, बेटी पढाऊ भन्ने नारा पूर्व मुख्यमन्त्रीले ल्याउनभएको थियो । अहिले पनि त्यो नारा चलिरहेको छ । कत्तिको आत्मसाथ गर्न सकेका छन् ? सार्थक रुपले कार्यान्वयन हुन सकेको छ वा छैन ? अनुसन्धानको विषय बनेको पनि छ । वैशाखमा भर्ना भएका विद्यार्थीहरू अन्तिम परीक्षा दिने समयमा ७० प्रतिशतमात्र उपस्थित हुन्छन् । छोरीहरूलाई घरायसी कामको कारणले पनि विद्यालयमा उपस्थि कम भएको हुन्छ । आर्थिक स्तिथि कमजोर भएकाले आमाबुबा बाहिर काम गर्न जाने भएकोले घरको कामको जिम्मेवारी छोरीलाई दिने र विद्यालय नपठाउने गरेको पाइन्छ । अभिभावकहरूको जनचेतनाको अभावले पनि छोरीहरूलाई पढाउनु पर्छ र उनीहरूको भविष्य सुरक्षित राख्नु पर्छ भन्ने सोचमा एकदम कमी छ । सरकारले गरीब र विपन्न वर्गका बालबालिकाहरूका अभिभावकहरूलाई रोजगारीको व्यवस्था गर्न सकेमा छोरीहरूले विद्यालयबाट ड्रप आउट गनपर्ने थिएन् । चेतनामा धेरै सुधार आएको छ । तर, बालविवाह गरिदिने र घरायसी काममा लगाउने गर्दछन् ।
तिर्थराज यादव (अध्यक्ष)
नेपाल शिक्षक महासंघ, पर्सा शैक्षिक बेरोजगारीले छोरीको शिक्षामा बाधा
विद्यालयमा छात्राहरूको ड्रप आउट हुने दर बढ्नुको कारण बुबाआमा चेतनशील नहुँनु र छोरीको विवाह चाँडै गरिदिनु मुख्य कारण हो । प्रायः गरिबीको रेखानमुनि रहेको परिवारमा गरिबीको कारणले छोरीलाई पढाई छुटाएर काममा लगाउने गरेको पाइन्छ । छोरीलाई धेरै पढाए पनि राम्रो घरमा दिँदा पनि दाइजो दिनुपर्ने कारणले छोरीलाई बीचमा नै पढाई छुटाएको देखिन्छ । अभिभावकहरूमा छोरा र छोरीबीचमा व्यापक रुपमा भेदभाव गर्दा पनि छोरी शिक्षाबाट वञ्चित भएका छन् । धेरै युवायुवतीहरू पढेर पनि बेरोजगार भएकाले पढेर के पो हुने हो भन्ने मानसिकता बसेको हुनाले छोरीहरूलाई बीचमा पढाई छुटाएर काममा लगाएका छन् । शैक्षिक बेरोजगारको संख्यामा वृद्धि हुँदा पनि छोरीको शिक्षामा बाधा पुगेको छ । बुबाआमा कृषिको काम गर्दा छोरालाई विद्यालय पठाउने र छोरीलाई घरधन्दा र नानीबाबुहरूलाई हेर्ने कामको जिम्मेवारी दिने भएकोले छोरीहरू विद्यालयबाट ड्रपआउट भएको पाइन्छ ।
सन्दिप साह(अध्यक्ष)
अभिभावक संघ, पर्सा
बालविवाहले विद्यालय छोड्ने दर बढ्यो
मधेशमा छात्राहरूले विद्यालय छोड्नुका मुख्य कारण मधेशमा भएको गरिबी र विपन्नताको साथसाथै बालविवाह मुख्य कारणको रुपमा देखिएको छ । मधेशका अधिकांश जिल्लाहरूमा गरीब र विपन्न परिवारहरू र दलित समुदाय भएकोले उनीहरू आफ्नो घरपरिवार चलाउन तथा जीवनयापन गर्नका लागि दिनरात मेहनत मजदूरी गरेर आफ्नो जीविका चलाइरहेका छन् । केहीले पठनपाठन पनि गराइरहेकोे देखेका छौं । यसैबीच केही गरीब र विपन्न परिवारका अभिभावकहरू, जो शिक्षाप्रति अलि जागरुक छैनन्, उनीहरूले आआफ्ना बालबालिकाहरूलाई विद्यालयमा पठाएका छैनन् । पढाउन चाहँदाचाहँदै पनि केही बाध्यताका कारण छोराछोरीहरूलाई विद्यालय नपठाएको पाइएको छ । कुन अभिभावकको इच्छा र आकांक्षा हुँदैन कि मेरो छोराछोरी राम्रोसँग पढेलेखेर डाक्टर, इन्जिनियर, सरकारी जागिरे तथा पाईलट बनोस् । सबै अभिभावकहरूको यस्तो इच्छा हुन्छ । तर, सबैको यस्तो इच्छा पूरा हुँदैन । मधेशमा गरीब, दलित र अल्पसंख्यक समुदायहरूको आर्थिक स्थिति कमजोर हुन्छ । त्यस कारण यी समुदायका अभिभावकहरूले अलिअलि पढ्न र लेख्न आएपछि आफ्ना बालबालिकाहरूलाई सानै उमेरमा काम गर्न सिकाउन थाल्छन् । अनि स्कुल जान छोड्छन् । अर्को मुख्य कारण ग्रामीण क्षेत्रमा रहेका गरीब, विपन्न तथा पिछडिएका समुदायहरूले लुकिछिपी बालविवाह गर्ने चलनले गर्दा पनि छात्राहरूको विद्यालय छोड्ने दर बढेको छ ।
सविता चौधरी (सहायक प्रधानाध्यापक)
सुरजीदेवी माध्यमिक विद्यालयआम समुदायमा शिक्षाबारे चेतना जगाउनु पर्छ
हाम्रो समाज पुरुषप्रधान समाज हो । महिलाभन्दा पुरुषलाई अग्रस्थान दिइन्छ । हुनेखाने र धनीवर्गका छोराछोरीहरू पढ्न बोर्डिङ्गतिर पठाउँछन् । मध्यम वर्गीय परिवारका छोरालाई बोर्डिङ्गमा र छोरीहरूलाई सरकारी विद्यालयमा पढाउँछन् । हाम्रो विद्यालयमा केटाभन्दा केटीको संख्या बढी छ । तर, कक्षामा ४०÷५० को हाराहारीमा भए पनि माथिल्लो कक्षा जाँदाजाँदै ५० प्रतिशतमा छात्राको संख्या पुग्छ । राम्रो अध्ययन गर्ने छोरीहरूलाई पनि राम्रो घरपरिवार पाएमा एसईसी गर्नुभन्दा अगाडि नै विवाह गरिदने चलन छ । अभिभावकहरूले शिक्षालाई दोस्रो प्राथमिकतामा राखेका हुन्छन् । राम्रो केटा पाएमा छिटै विवाह गरेर घर बसाइदिऊँ । यो केटा छुट्ला र अर्को भनेजस्तो केटा नपाउँला भन्ने मनोविज्ञान अभिभावकमा देखिएको छ । मध्यम वर्गीय परिवारहरूको आर्थिकस्तर पनि कमजोर भएकोले आमाबुबा कमाउनेतर्फ लाग्छन् । अलिअलि पढाईसम्बन्धी जानकारी भयो भने उनीहरूलाई पनि पढाई छुटाएर कामतिर लगाइदिन्छन् । आर्थिक अवस्था कमजोर तर शिक्षित आमा भएकोले छोरीलाई पढाएका छन् । जुन छोरीको आमा अनपढ छ भने उसले छोरीहरूलाई पढाएको छैन । विद्यालयमा कक्षा १ मा भर्ना हुँदादेखि कक्षा ८ सम्म विद्यार्थीको संख्या छोराको भन्दा बढी छोरीको हुन्छ । तर, पढ्दै जाँदा परिवारले राम्रो घरको केटा पाए भने विवाह गरिदिने र एसईई दिने समयमा पनि परीक्षा दिन वञ्चित भएको अवस्था पनि छ । त्यस्ता अभिभावकलाई जति नै मनाएपछि परीक्षा नै दिन ल्याएका छैनन् । घर बनाउनको लागि जग बलियो बनाएजस्तै सरकारले छोरीको छिटो विवाह गर्दा हुने समस्याको बारेमा टेलिशृंखलाहरू र नाटकहरू बनाएर आम समुदायलाई जनचेतना जगाउनु पर्छ ।
मोति भट्टराई (प्रमुख)
शिक्षा समन्वय समिति, पर्सा ड्रप आउटमा धेरै कुराले प्रभाव पार्दछ ।
विद्यालयहरूमा छात्राको ड्रप आउट दर बढी हुनुमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मधेशका विद्यालयहरूमा छात्राहरूको लागि शौचालयको उचित व्यवस्था नहुनुले गर्दा पनि छात्राहरूले समस्या महशुस गरेर विद्यालय छाड्ने गरेको पाइन्छ । अभिभावकले सानै उमेरमा विवाह गरिदिने भएकोले पनि छोरीहरूले विद्यालय छोडेको देखिन्छ । किसान परिवारका बच्चाहरू धेरै भएकाले कामको सिजनमा घरमा काम गर्नुपर्ने, बुबाआमालाई सघाउनुपर्ने भएकोले पनि छात्राहरूको ड्रप आउट दर बढी देखिएको छ । पठनपाठ्नमा, खेलकुदमा, अतिरिक्त क्रियाकलापमा पनि छात्रछात्राहरूको समावेशी सहभागिता गराउने कुरा कमी भएर पनि विद्यालयमा छोरीहरूले आफ्नो स्थान नपाएर पनि अध्ययन छोडेको हो की जस्तो लाग्छ । धेरै कुराहरू शिक्षकले गर्ने व्यवहार, शौचालय, वातावरण, पानीको प्रबन्ध नभएर पनि विद्यालयमा छात्राहरू कम आउने गरेको, विद्यालयबाट पनि ड्रप आउट हुने गरेको, निश्चित तह पार गर्न नसकेको देखिन्छ । विद्यालयमा अध्ययन गर्ने छात्राहरूमा सुरक्षाको प्रत्याभूति नहुने देखिएकोले छात्राहरूको ड्रप आउट दर पनि बढेको देखिन्छ ।
प्रदिप जयसवाल(अध्यक्ष)
नेपाल शिक्षक संघ,पर्साछोरी नपढाउनेलाई सुविधा रोक्नु पर्दछ
छात्र र छात्रामा भेदभाव गरिएको छ । अभिभावकले छात्रलाई निजी विद्यालयमा पढाउने र छात्रालाई सामुदायिक विद्यालयमा पढाउने गरेका हुन्छन् । छोरीहरूलाई घरको काम गर्न लगाउने, बाख्रापालनमा लगाउने र काम नभएको समयमा मात्र विद्यालय पठाउने गरेकाले निश्चित समयमा कक्षा उत्तीर्ण गर्न नसक्दा पनि विद्यालय छाड्ने गरेका छन् । दाइजो प्रथाले गर्दा छोरीलाई जति धेरै पढायो विवाह गर्न समस्या हुने भएकाले सानो उमेरमा नै विवाह गरिदिएको पनि देखिन्छ । यसले विद्यालय छोड्ने दर बढी भएको छ । ड्रपआउट घटाउनको लागि अनिवार्य रूपमा छात्रछात्रालाई विद्यालय पठाउन अनुरोध गर्ने र नपठाए परिवारलाई सरकारबाट पाउने हरेक सुविधाबाट वञ्चित गर्नु पर्दछ । यसरी ड्रपआउट दर घटाउन सकिन्छ ।