डा. एनी पाण्डेय स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले चीनको छङछिङ मेडिकल विश्व विद्यालयबाट एमबीबीएस र ओहान विश्व विद्यालयबाट एमडी गरेकी छन् । विगत ७ वर्षदेखि चिकित्सक सेवामा सेवारत उनले वीरगञ्जको शान्ति पोली क्लिनिक र नारायणी अस्पतालबाट सेवा दिँदैआएकी छन् । मध्य नेपालले डा. एनी पाण्डेयसँग महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको समस्या, सावधानी र उपचारको विषयमा केन्द्रित रहेर गरिएको कुराकानी:
पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ?
पाठेघर भन्नाले बच्चादानीको मुख भन्ने बुझिन्छ । यसलाई सर्विक्स पनि भनिन्छ । पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरस (ह्युमन प्यापिलोना भाइरस) को कारणले लाग्ने गर्दछ । यौन सम्पर्कबाट (इक्टो सर्विक्स र इन्डो सर्विक्स) बाहिरी भागमा र भित्री भागमा (ट्रान्सफर्मेसन जोन) को संक्रमणले गर्दा क्यान्सर हुन्छ । पाठेघरको मुखको क्यान्सर पनि धेरै किसिमका हुन्छन् । पाठेघरको मुखको बाहिरी भाग स्क्यानो सेल कार्सुला, एडिनो कार्सुला, स्क्यानो सेल कार्सुला र एडिनो कार्सुला मिसिएको र न्यु इन्डोक्राइम हुन्छ । स्क्यानो सेल कार्सुला (इक्टो सर्विस) पाठेघरको मुखको बाहिरी भागमा हुन्छ । एचपीभी भाइरस २ सयभन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये एचपीभी १६ ले गर्दा स्क्यानो सेल कार्सुला हुन्छ । एचपीभी १८ ले गर्दा एडिनो कार्सुला हुन्छ । यौन सम्पर्कमा रहने महिलाहरूमा क्यान्सर बढी हुने गर्दछ । पहाडी जिल्लाको तुलनामा मधेशका महिलाहरूमा पाठेघरसम्बन्धी समस्याहरू बढी देखापरेको छ । आफ्ना अभिभावकहरूलाई नभनेर समस्या लुकाउने कारणले पनि यसले व्यापकता पाइरहेको देखिन्छ । योनीबाट पानी जाने र पेट दुख्ने समस्या भएका महिलाहरूलाई पाठेघरको क्यान्सर हुने सम्भावना बढी रहन्छ ।
कुन उमेर समूहका महिलामा पाठेघरको क्यान्सर बढी हुन्छ ?
३५ वर्ष उमेर नाघेका विवाहित महिलाहरूलाई पाठेघरको क्यान्सर बढी हुने गरेको पाइन्छ । ३५ वर्ष उमेर नाघेका महिलाहरूले खानपानमा ध्यान दिनुपर्छ । तनाव कम गर्नुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । हरेक ६÷६ महिनामा पाठेघरको मुखको पानीको जाँच गर्नुपर्छ ।
पाठेघरको मुखको क्यान्सर कसरी पत्ता लगाउन सकिन्छ ?
पाठेघरसम्बन्धी समस्या भएका महिलाहरूले समयमा नै अस्पतालमा जाँच गराएमा क्यान्सर पत्ता लगाउन सकिन्छ । पाठेघर मुखको क्यान्सर लागेका महिलाहरू समयमा नै अस्पताल आएमा रोकथाम गर्न सकिन्छ । ९ वर्षदेखि १४ वर्षसम्मको किशोरीहरूलाई एचपीभीको खोप लगाउनु पर्छ । यो खोप २६ वर्षको उमेरसम्म पनि लगाउन सकिन्छ । पाप्समेयर र भिआइए जाँच गरेर क्यान्सरको अवस्था पत्ता लगाउन सकिन्छ । पाप्समेयर जाँचमा क्यान्सरको केही लक्षण देखिएमा भीआईए जाँच र कल्कोस्कोपी (दुरबिन) बाट जाँच गराइन्छ ।
पाठेघर मुखको क्यान्सरका कस्ता लक्षणहरू हुन्छन् ?
पाठेघर मुखको क्यान्सरका धेरैवटा लक्षणहरू हुन सक्छन् । ती मध्ये पाठेघरको क्यान्सर हुँदा धेरै पेट दुख्ने हुन सक्छ । महिनावारी हुदाँ धेरै रगत बग्छ । यौन सम्पर्क गर्दा पेट दुख्ने र सम्पर्कपछि रगत बग्ने हुन्छ । महिलाको अनियमित महिनावारी हुनु, महिनावारीपछि पनि रगत आउनु, विशेष गरेर यौन सम्पर्कपछि रगत आउनु क्यान्सरको शुरूको अवस्था हो । १८ वर्षभन्दा अगाडि नै बच्चा हुने, कम उमेरमा नै यौन सम्र्पकमा लाग्ने, एकभन्दा बढी सेक्स पार्टनर हुने, धुमपान गर्ने महिलाहरू, लामो समयसम्म गर्भ निरोधकका साधन पिल्सको प्रयोग गर्ने महिलाहरूलाई क्यान्सर यस्तो समस्या हुने सम्भावना बढी हुन्छ । गन्हाउने सेतो पानी बग्ने, रगतका कणहरू मिसिएर देखिने, शरीरको पछाडि भाग दुख्ने, छिनछिनमा पिसाब लाग्ने, दिसा राम्रोसँग नहुने, पटकपटक दिसा भइरहने यसका लक्षणहरू हुन्छन् ।
पाठेघरको मुखको क्यान्सरलाई कुन चरणमा उपचार सम्भव छ ?
पाठेघरको मुखमा हुने क्यान्सरलाई चार चरणमा विभाजन गरिएको छ । पाठेघरको क्यान्सर पहिलो चरणमा पाठेघरको मुखमा मात्र भएको हुन्छ । जसलाई केमोथेरापी र रेडियो थेरापीबाट निको पार्न सकिन्छ । दोस्रो चरणको क्यान्सर पाठेघरको मुखभन्दा माथि गइसकेको हुन्छ । यसलाई पनि केमो थेरापी र रेडियो थेरापी गरेर अप्रेशनतिर जानुपर्छ । तेस्रो चरणको क्यान्सर पाठेघरको अन्य अंगलाई पनि छोएको हुन्छ । यसलाई केमो थेरापी र रेडियो थेरापी गरेर अप्रेशन गर्नु पर्छ । यसरी पनि निको हुन्छ नै भन्न सकिन्न, उपचार गर्दै गएपछि मात्र थाहा हुन्छ । पाठेघरको चौथो चरणको क्यान्सर पाठेघरमा भएर पाठेघरबाहेक अन्य अंगमा भइसकेको हुन्छ । यसमा केमो थेरापी, रेडियो थेरापी, अप्रेशन गरेर औषधी सबै चलाएको हुन्छ । तर, यो चरणमा पुगेपछि निको नहुन पनि सक्छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न कस्तो सावधानी अपनाउनु पर्छ ?
महिलाहरूले सबैभन्दा पहिला ९ वर्षदेखि २६ वर्ष बीचमा एचपीभी खोप लगाउनु पर्छ । ग्रामीण भेगका महिलाहरूमा क्यान्सरसम्बन्धी जनचेतना जगाउने काम गर्नुपर्छ । २१ वर्ष उमेरदेखिका महिला पाप्समेयर जाँच गराउन शुरू गर्नु पर्छ । प्रत्येक ३ वर्षसम्म गराउनु पर्छ । पाप्समेयर र एचपीभी डिएनए जाँच ५÷५ वर्षमा गर्नुपर्छ । भीआईए जाँच ३० वर्षदेखि ४९ वर्षको उमेरसम्मको लागि गरिन्छ ।
महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको बारेमा थप सुझावहरू के दिनुहुन्छ ?
शारीरिक रुपमा केही असजिलो भएको महसुस हुनासाथ रोग नलुकाई घरका मानिसलाई भनेर छिटोभन्दा छिटो उपचार गराउनेतर्फ लाग्नु पर्छ । पहिलो र दोस्रो चरणमा उपचार गरेमा क्यान्सर निको हुन्छ । तर, सबैलाई क्यान्सरको उपचार छैन भन्ने सोच समाजमा फैलिएको छ । महिनावारी हुँदा रगत बगेमा र यौन सम्पर्कपछि रगत बगेमा जँचाउनु पर्छ । ३५ वर्ष नाघेका महिलाहरूले हरेक ६÷६ महिनामा पाठेघरको मुखको जाँच गरेर पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ । पाठेघरको मुखको जाँच धेरै महंगो छैन । सरकारी अस्पतालमा यो जाँच उपलब्ध छ । अहिले ९ देखि १४ वर्षसम्मका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन ह्युमन प्यापोलोना भाइरसविरुद्ध एचपीभी खोप निःशुल्क लगाइरहेको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीहरूलाई यो खोप लगाउनु पर्छ । महिलाहरूलाई कुनै समस्या आएमा तुरुन्त पाठेघरको मुखको जाँच गराउने, एकभन्दा बढी व्यक्तिसँग यौन सम्बन्ध नराख्ने, धुमपान र मद्यपान सेवन नगर्ने र लगातार ५÷१० वर्षसम्म गर्भनिरोधक अस्थायी साधन पिल्सको प्रयोग नगर्नेजस्ता सावधानी अपनाउनु पर्दछ । महिलाहरूलाई पाठेघरसम्बन्धी कु्नै पनि समस्या आएमा तुरुन्त स्त्री तथा प्रसूति रोग विशेषज्ञसँग परामर्श गर्नु पर्छ । क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध हुने भएकाले नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु पर्दछ ।