वीरगञ्ज नाका नेपाल–भारत सीमाको सबैभन्दा व्यस्त र प्रमुख नाकामध्ये एक हो । खुला सीमा, दैनिक हजारौं मानिसहरूको आवतजावत, व्यापारिक गतिविधि र अत्यधिक भीडभाडका कारण यो नाका मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले पनि अत्यन्तै संवेदनशील मानिन्छ । यही नाकामा विगत १३ वर्षदेखि माइती नेपालमार्फत् मानव बेचबिखनविरुद्ध सक्रिय रूपमा काम गरिरहेकी गोमाकुमारी पौडेल माइती नेपाल वीरगञ्ज पर्साकी सुपरभाइजर हुन् । उनीसँग वीरगञ्ज नाकाको अवस्था, चुनौती, प्रयास र समाधानका उपायबारे मध्य नेपालले गरेको कुराकानी:
वीरगञ्ज नाका मानव बेचबिखन र ओसारपोसारको दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ । यहाँ कसरी काम गरिरहनुभएको छ ?
वीरगञ्ज नाका नेपाल–भारत सीमाको सबैभन्दा व्यस्त नाका हो । यहाँ दैनिक हजारौं मानिसहरूको आवतजावत हुन्छ । व्यापारिक गतिविधि अत्यधिक छ, यात्रुहरूको चाप धेरै छ । जसका कारण दलालहरूले यही भीडको फाईदा उठाउने गरेका छन् । विशेषगरी महिला तथा बालबालिकालाई रोजगारी, राम्रो जीवन, पढाई, विवाह वा विदेश लैजानेजस्ता विभिन्न बाहानामा भारत तथा तेस्रो देशतर्फ लैजाने प्रयासहरू भइरहेका हुन्छन् । यस्तो अवस्थामा हामी माइती नेपालले नेपाल प्रहरी र सीमा सुरक्षा निकायसँग सहकार्य गरेर भारततर्फ जाने शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गर्ने, जोखिममा देखिएका महिला तथा बालबालिकाको उद्धार गर्ने कार्य गर्दै आएका छौं । उद्धार गरिएकाहरूलाई प्रहरीको पत्रसहित माइती नेपाल गृहमा ल्याइन्छ । त्यहाँ उनीहरूको सुरक्षा, परामर्श, स्वास्थ्य जाँच र आवश्यक संरक्षणको व्यवस्था गरिन्छ । त्यसपछि अभिभावकको पहिचान गरी पारिवारिक पुनर्मिलन गराउने काम गरिन्छ । यो प्रक्रिया सजिलो छैन, तर निरन्तर प्रयासबाट धेरै जीवनहरू सुरक्षित गर्न सकिएको छ ।
खुला सीमा भएकाले सबै ठाउँमा निगरानी राख्न सम्भव हुँदैन । यस्तो अवस्थामा नियन्त्रण कसरी सम्भव हुन्छ ?
खुला सीमामा पूर्ण रूपमा नियन्त्रण गर्नु अत्यन्तै कठिन काम हो । सबै गोरेटो बाटो, ससाना नाका र अवैध आवतजावत हुने स्थानहरूमा निगरानी राख्न सम्भव हुँदैन । तर पनि हामीले निगरानी, समुदायको सहभागिता, सीमा प्रहरी चौकीको सक्रियता र सीमा क्षेत्रमा जनचेतनामूलक कार्यक्रममार्फत नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं । घरदैलो अभियान, चेतनामूलक गोष्ठी, ब्रोसर तथा पम्प्लेट वितरणजस्ता कार्यक्रमले स्थानीय समुदायलाई सजग बनाउने काम गरेको छ । समुदाय सचेत भएमा शंकास्पद गतिविधि तुरुन्तै सूचना दिन सक्छन्, जसले धेरै घटनालाई प्रारम्भिक चरणमै रोक्न मद्दत गर्छ । यद्यपि, सबै ठाउँमा निगरानी राख्न नसक्दा समस्या पूर्ण रूपमा समाधान भने हुन सकेको छैन ।
निरन्तर प्रयास हुँदाहुँदै पनि मानव बेचबिखनको समस्या किन कायमै छ ?
मानव बेचबिखन कायमै रहनुका धेरै कारण छन् । गरिबी यसको प्रमुख कारण हो । बेरोजगारी, अशिक्षा, सामाजिक असमानता, वैदेशिक रोजगारीको तीव्र चाहना र छिटो कमाईको लोभले मानिसहरूलाई जोखिमपूर्ण निर्णय लिन बाध्य बनाउँछ । यही अवस्थाको फाईदा उठाएर दलालहरूले झुटा आश्वासन, आकर्षक प्रस्ताव र प्रलोभन देखाएर महिलाहरू र बालबालिकालाई बेचबिखनमा फसाउने गरेका छन् । यसका साथै कानूनको कमजोर कार्यान्वयन, सीमित अन्तरनिकाय समन्वय र कहिलेकाहीँ हुने ढिलासुस्तीले पनि समस्या जटिल बनाएको छद। कानून त छन्, तर तिनको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ ।
मानव बेचबिखन पूर्ण रूपमा निर्मूल हुन सक्छ कि सक्दैन ?
यथार्थमा भन्नुपर्दा मानव बेचबिखन पूर्ण रूपमा निर्मूल गर्नु अत्यन्तै कठिन छ । तर यसलाई ठूलो मात्रामा न्यूनीकरण भने अवश्य गर्न सकिन्छ । यसका लागि कडा कानून निर्माणमात्र होइन, तिनको प्रभावकारी कार्यान्वयन आवश्यक छ । छिमेकी देशहरूसँगको सहकार्य, सीमा व्यवस्थापन, सूचना आदानप्रदान र संयुक्त प्रयास अत्यन्तै महत्वपूर्ण छन् । त्यसैगरी गरिबी निवारण, शिक्षा र रोजगारीका अवसर विस्तार, महिलाको सशक्तीकरण र समुदायस्तरको चेतना अभिवृद्धिले दीर्घकालीन रूपमा यो समस्यालाई घटाउन मद्दत पु¥याउँछ ।
यति धेरै संघ–संस्थाहरू सक्रिय छन् र सुरक्षा निकायको निगरानी पनि छ । सहकार्य कस्तो छ ? नियन्त्रण किन चुनौतीपूर्ण बन्दै गएको छ ?
संघ–संस्थाहरूको संख्या धेरै भए पनि सरकारी निकायहरूबीचको समन्वय अझै कमजोर छ । जिम्मेवारीको स्पष्टता नहुनु, सूचना आदान–प्रदानको कमी, राजनीतिक दबाब र कहिलेकाहीँ देखिने भ्रष्टाचारले नियन्त्रणलाई चुनौतीपूर्ण बनाएको छ । सबै निकाय एउटै उद्देश्यका लागि काम गरिरहेको भए पनि प्रभावकारी समन्वयको अभावले प्रयासहरू बिखण्डित हुने गरेका छन् । यदि समन्वय सुदृढ बनाइयो भने उपलब्ध स्रोत र जनशक्तिको अधिकतम् उपयोग गर्न सकिन्छ ।
जनचेतनामूलक कार्यक्रमहरू पर्याप्त देखिन्छन् । तर अपेक्षित प्रभाव किन देखिएको छैन ?
जनचेतनामूलक कार्यक्रमहरू संख्या र पहुँचका हिसाबले पर्याप्त भए पनि धेरैजसो जानकारीमा मात्र सीमित छन् । व्यवहार परिवर्तनमा केन्द्रित कार्यक्रमको अभाव छ । गरिबी, बाध्यता र सामाजिक संरचनाका कारण मानिसहरू चेतना हुँदाहुँदै पनि जोखिमपूर्ण निर्णय लिन बाध्य हुन्छन् । विशेषगरी आर्थिक अभाव र रोजगारीको कमीले गर्दा चेतनाभन्दा पेटको समस्या ठूलो बन्न जान्छ । यही कारणले जनचेतना कार्यक्रमहरूको प्रभाव अपेक्षाअनुसार देखिएको छैन ।
मानव बेचबिखन र गरिबीबीच कस्तो सम्बन्ध देख्नुभएको छ?
गरिबी र मानव बेचबिखनबीच गहिरो अन्तरसम्बन्ध छ । गरिबीका कारण रोजगारीको अभाव, छिटो कमाइको चाहना र क्षमताभन्दा बढी आयआर्जनको लोभ पैदा हुन्छ । यही अवस्थालाई दलालहरूले प्रयोग गर्छन् । गरिबी नघटाई यो समस्या समाधान गर्न अत्यन्तै कठिन छ । त्यसैले आर्थिक सशक्तीकरण र रोजगारी सिर्जना मानव बेचबिखनविरुद्धको प्रमुख उपाय हो ।
मानव बेचबिखन भन्नेबित्तिकै महिलाको कुरा गरिन्छ । पुरुषहरू पनि बेचबिखनमा पर्ने गरेका छन् कि छैनन् ?
हो, पुरुषहरू पनि मानव बेचबिखनको जोखिममा पर्छन् भन्ने अनुभव हामीसँग छ । एउटा पटक भारतको बिहारस्थित छौडादानो क्षेत्रमा रहेको एक आर्केस्ट्रामा किशोरीहरूलाई बन्धक बनाइएको थियो । उद्धारका लागि त्यहाँ पुग्दा एकजना पुरुष पनि बन्धक अवस्थामा भेटिएका थिए । उनले आफू पनि आर्केस्ट्रामा जबरजस्ती राखिएको र उद्धार गरिदिन अनुरोध गरेका थिए । यो घटनाले मानव बेचबिखन महिलामा मात्र सीमित छैन, पुरुषहरू पनि जोखिममा पर्न सक्छन् भन्ने यथार्थ उजागर गर्छ ।
विशेषगरी वीरगञ्ज नाकामा काम गर्दा भोग्नुपरेका चुनौतीहरू केके छन् ?
वीरगञ्ज नाकामा काम गर्दा विभिन्न चुनौतीहरू छन् । सोसियल मिडियामार्फत दलालहरू प्रत्यक्ष देखिँदैनन् र बालिकाहरू एक्लै दैनिक सीमा पार गर्ने गरेका छन् । नेटवर्किङ बिजनेसको बहानामा भारततर्फ जानेहरूको संख्या बढ्दो छ । तेस्रो देश जानेहरू राहदानी अरूको हातमा दिई बजार जाने बहाना बनाउने गर्छन् । मुस्लिम समुदायका महिलाहरूलाई बुर्का लगाएर सीमा पार गराइने गरेको पाइन्छ । दलालहरूले नाकासम्म अभिभावकको प्रयोग गर्ने गरेका छन् । रोजगार र आर्थिक प्रलोभनका कारण भारततर्फ आकर्षण बढी देखिन्छ ।
संरक्षण गृहसम्बन्धी र अन्य व्यावहारिक चुनौतीहरू के छन् कि ?
माइती नेपाल गृहमा ल्याइएका हिंसापीडित तथा प्रभावित महिला तथा बालिकाहरूलाई भेट्न पीडक पक्ष कार्यालयमै आएर दबाब दिने गरेका घटनाहरू छन् । यस्तो अवस्थामा प्रहरीको सहयोग लिएर समस्या समाधान गर्नु पर्छ । त्यसैगरी हराएका व्यक्तिहरूको निवेदन दिनेहरूले कुनै माध्यमबाट फेला परेपछि जानकारी नदिने समस्या पनि छ । यसले गर्दा कार्यालयबाट पटकपटक फलोअप गर्नु पर्छ । भारततर्फ जाने महिला तथा बालिकाहरूलाई सोधपुछ गर्दा उनीहरूलाई प्रलोभन देखाएर ल्याउने व्यक्तिको समयमै पहिचान नहुँदा दलालहरू सीमा पार गर्न सफल हुने गरेका छन् ।