सूर्योदय सेकेण्डरी स्कुल प्रधानाध्यापक हुन्, शिखा यादव । भारतबाट स्नाहतक गरेकी यादव विगत ९ वर्षदेखि शिक्षण पेसामा लागेकी छन् । समाजमा भएका कुरीतिलाई हटाउन उनी दाइजोविरुद्धको छोरी शिक्षा अभियानमा लागेकी छिन् । मध्य नेपालका लागि कमला भण्डारीले उनै दाइजो प्रथाविरोधी अभियन्ता यादवसँग गरेको कुराकानी:
दाइजोविरुद्धको छोरी शिक्षा अभियानमा किन लाग्नुभयो ?
समाजमा भइरहेको असमानता र भेदभावले गर्दा हो म यसमा लागेको । दाइजोको कारणले धेरै छोरीहरूको भविष्य अन्धकारमा गएकाले शिक्षामार्फत् नै ठूलो परिवर्तनको काम गर्न सक्छौं भन्ने लागेर कोरोना कहरपछिको समयदेखि हामीले दाइजोविरुद्धको छोरी शिक्षा अभियान शुरू गरेका हौं । हाम्रो विद्यालय १० कक्षासम्म सञ्चालनमा छ । ३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् । १ सय ७० जना छोरीहरुलाई अहिलेसम्म निःशुल्क पढाइरहेका छौं ।
दाइजोविरुद्धको छोरी शिक्षा अभियानमा केकस्ता कामहरु गर्नुभएको छ ?
कोरोना कहरपछिका वर्षहरूमा हाम्रो विद्यालयमा भर्ना हुन आएका छोरीहरूलाई निःशुल्क शिक्षा दिँदै गएका छौं । २ सय छोरीहरूलाई दाइजोविरुद्धको छोरी शिक्षा अभियानमा समावेश गरेर निःशुल्क कक्षा १० सम्म पढाउने हाम्रो लक्ष्य छ । समयसमयमा विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई जनचेतनामूलक कार्यक्रमहरू पनि गर्छौं । दाइजो लिएपछि केकस्ता परिणाम हुन्छ । कानूनी उपचार, कानूनी सजाय, समानताबारेमा सचेत गराउने काम गर्छाैं । सूर्योदय विद्यालयमा २ सय छोरीलाई निःशुल्क शिक्षाको अवसर दिएका छौं । यो शहरलक्षित कार्यक्रम हो । भविष्यमा ग्रामीण क्षेत्रमा लक्षित गर्दै ग्रामीण क्षेत्रमा विद्यालय सञ्चालन गरी छोरीहरूलाई निःशुल्क शिक्षा दिने उद्देश्य छ ।
तपाईंको एक्लो प्रयासले दाइजो प्रथाको अन्त्य सम्भव छ ?
दाइजोजस्तो सामाजिक कुरीतिलाई एक्लैले अन्त्य गर्न सम्भव छैन । एकजनाको प्रयास र शुरूवातले परिवर्तनको धेरै सम्भावना छ । विद्यालयमा अध्ययन गर्ने सबै बालबालिकालाई सम्मान, शिष्टाचार दिने मेरो उद्देश्य हुन्छ । दाइजो प्रथाको अन्त्य गर्न समाजमा भएका हरेक बुद्धिजिवी, संघसंस्था, सरकारी निकायहरूका सरोकारवालाहरूले जो सामाजिक क्षेत्रमा काम गरिरहेको छ, सबैले आआफ्नो स्थानबाट कार्यक्रम गर्ने र छोरीको हकहितमा काम गरेमा दाइजो प्रथाको अन्त्य सम्भव छ ।
तपाइँको अभियानलाई व्यापक बनाउन कस्ता योजनाहरू बनाउनुभएको छ ?
अहिलेसम्म हामीले विद्यालयबाट नै छोरीलाई निःशुल्क शिक्षा दिनु र जनचेतना जगाउने काम गरिरहेका छौं । भोलिका दिनमा सबैको साथ सहयोग पाएमा अवश्य नै ग्रामीण क्षेत्रमा गएर पनि छोरीलाई निःशुल्क शिक्षा दिएर दाइजोविरुद्धको छोरी शिक्षा अभियानलाई अगाडि बढाउने छौं । आजसम्म हामीले कुनै निकायबाट साथ सहयोग पाएका छैनौं । हाम्रो आफ्नो स्रोतले भ्याएसम्म प्रयास गरिरहेका छौं । मिसन नेपाल संस्थासँग सहकार्य गरेर महिला, पुरुष र युवाहरूलाई सबैलाई भेला गराएर जनचेतनामूलक कार्यक्रम गर्ने योजना बनाएका छौं । स्कुलबाट पनि समाजमा फैलिएको विकृतिप्रति सचेत गराउनका लागि नाटक प्रर्दशन गर्ने गरेका छौं ।
दाइजोविरुद्धको छोरी शिक्षा अभियानमा कुनकुन पक्षको साथ र सहयोग चाहिन्छ ?
दाइजोजस्तो गहिरो समाजिक कुरीति अन्त्य गर्न विद्यालय र समुदायसँग हातेमालो गर्दै धेरै प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छौं । आशा राखेको छु, अगाडिको दिनमा समुदायिक जागरण, विभिन्न एनजीओ, आइएनजीओ, आमा समूह, मिडियाकर्मी साथीहरुको साथ र सहयोग आवश्यक छ ।
दाइजोविरुद्धको छोरी शिक्षा अभियानले समाजमा कस्तो परिवर्तन आएकोे छ ?
पहिलाको तुलनामा अहिले धेरै परिवर्तन भएको छ । पहिलाको युवा पिँढी र अग्रज नागरिकहरूको सोचविचार अलग्गै थियो । अहिलेको शिक्षित युवा पिँढीको सोचविचारमा धेरै नै अन्तर देखिन्छ । विद्यार्थीहरू, अभिभावकहरू र स्थानीय समुदायहरू हामी सबै एकजुट भएर दाइजोविरुद्धको अभियानमा लागेमा भविष्यमा सामाजिक कुरीतिहरूको अन्त्य गर्न सकिन्छ ।
दाइजो प्रथाको अन्त्य गर्न कस्ता कार्यक्रमहरू गर्नु पर्छ ?
हरेक आमाबुबाले छोरा र छोरी दुवैलाई समान शिक्षा दिनु पर्छ । छोरी शिक्षित भएपछि आफ्नोबारेमा निर्णय लिन आफैं सक्षम हुन्छन् । विद्यालयबाट सेल्फ डिफेन्स कक्षा सञ्चालन हुनु पर्छ । शिक्षा गुणस्तरीय हुनु पर्छ । विद्यालयदेखि नै छोरीको अधिकार र भविष्यमा आउने चुनौतीबारेमा प्रतिकार कसरी गर्ने भनेर छोरीहरूलाई तालिम दिएपछि छोरी आफंै सक्षम हुन्छन् । आमाबुबा कसैको प्रेसरमा आएर खेत बेचेर पनि दाइजो दिने अवस्थामा छोरीले नै सम्झाउन सकोस् । आफ्नो भविष्य राम्रो गर्छु । आमाबुबाको पनि भरणपोषण गर्न सक्ने वातावरण विद्यालय, समु्दाय, स्थानीय सरकार र समाजले बनाइदिएमा दाइजोजस्तो कुप्रथाको अन्त्य हुन्छ । परिवर्तन एकजनाले मात्र चाहेर हुँदैन । सबैले एकजुट भएर जो जहाँ छन्, त्यही क्षेत्रबाट प्रतिकार गर्नु पर्छ ।
अन्त्यमा आम समुदायलाई के सन्देश दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिला दाइजो लिने छोराहरू सचेत भइदिए राम्रो हुन्छ । अरूको छोरीको दाइजो लिनका लागि छोरीको बुबाहरूलाई कष्ट दिइरहेका हुन्छन् । छोरीको बुबाको पीडालाई महासुश गर्नु पर्छ । व्यवहारमा अन्तर आउनु पर्छ । अहिलेको समाजमा छोराछोरीको समानताको लागि शिक्षा अत्यन्तै जरुरी छ ।