नेकपा (एमाले)को महाधिवेशनअन्तर्गत हुने निर्वाचनको नतिजा भोलि मात्र आउने भएको छ। निर्धारित समयमा मतदान सुरू हुन नसक्दा मतगणना र नतिजा सार्वजनिक गर्ने प्रक्रिया ढिला हुने भएको हो।
निर्वाचन कार्यक्रमअनुसार मंगलबार बिहान ११ बजेदेखि मतदान सुरू हुने भनिए पनि प्राविधिक तयारी पूरा हुन नसकेका कारण मतदान अपराह्न ४ बजेपछि मात्र सुरू हुने भएको छ। यसअघि कार्यक्रम संशोधन गर्दै मतदानको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको थियो।
एमालेले महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै आएको छ। यसपटक पनि सोही कम्पनीको मेसिन प्रयोग गरिने भएको छ। कम्पनीका प्राविधिक लक्ष्मण रिमालका अनुसार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची राति १ बजे मात्र उपलब्ध गराएकाले मेसिनमा उम्मेदवारको फोटो कोडिङ र सूचीकरण गर्न समय लागेको हो।
उनका अनुसार हाल भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण कोडिङ भइरहेको छ र अपराह्न ४ बजेसम्म सबै प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ। यही कारणले बिहान ११ बजेदेखि मतदान सुरू हुन नसकेको हो।
यसपटक महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छ। एक जना मतदाताले मतदान गर्न औसतमा ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ।
एमालेको महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीतसमेत गरी कूल २ हजार २६२ प्रतिनिधि सहभागी छन्। यसअनुसार मतदान प्रक्रिया बुधबार मध्याह्नसम्म चल्ने अनुमान गरिएको छ। हालको अवस्थालाई हेर्दा निर्वाचनको नतिजा बुधबार मध्याह्नपछि मात्र सार्वजनिक हुने एक नेताले जानकारी दिएका छन्।