रामधुनी नगरपालिका–२ का सिटी सफारी चालक दिनेशकुमार चौधरीको हत्या तन्त्रमन्त्र र व्यक्तिगत रिसइबीको बदला लिएर ‘सुपारी’मा गरिएको खुलासा भएको छ। प्रहरीले मुख्य योजनाकार र सुटरसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
सुनसरी प्रहरीले दिएको विवरण अनुसार, हत्या प्रकरणको मुख्य योजनाकार रामधुनी–१ झुम्का बस्ने दाजुभाइ राजकिशोर (राजेश) र नन्दकिशोर साह हुन्। उनीहरूले मृतक चौधरीले आफू र परिवारका सदस्यहरूलाई लामो समयदेखि ‘तन्त्रमन्त्र’ र ‘टुनामुना’ गरी दुःख–हैरानी दिएको अन्धविश्वास पालेर रिसइबी साध्ने योजना बनाएका थिए।
योजना अनुसार, राजकिशोर साहले ६ लाख ५० हजार रुपैयाँ सुपारी दिएर सुटर मोहम्मद इब्रान मिया मार्फत हत्या गराएको खुलेको छ। मियाले काम सुरु गर्नुअघि ३ लाख रूपैयाँ पेस्की लिएका थिए भने बाँकी रकम काम पूरा भएपछि लिने सहमति भएको प्रहरीले जनाएको छ।
घटना असोज २५ गते साँझ करिब साढे ५ बजे सुनसान नहरको बाटोमा भएको थियो। प्रत्यक्षदर्शी छिमेकी नरेश चौधरीका अनुसार, मोटरसाइकलमा आएका तीन व्यक्तिले दिनेशलाई रोक्दै गोली प्रहार गरेका थिए। दिनेश घटनास्थलमै रगताम्य अवस्थामा लडेका थिए।
पक्राउ पर्ने ७ जनामा मुख्य योजनाकार राजकिशोर र नन्दकिशोर साह, सुटर मोहम्मद इब्रान मिया, अङ्कित साह, प्रिन्स कुमार दास, गियास मन्सुरी र मिथिलेश यादव रहेका छन्। उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।