वीरगन्ज महानगरपालिकाले वडा नं. २, छपकैया–स्थित रेल्वे रोडमा निर्माण गरेको तरकारी तथा फलफूल थोक बजार आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै वर्षौँदेखिको व्यवस्थित थोक बजारको अभाव अन्त्य भएको महानगरले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले बजार निर्माण छपकैया समुदायकै पहिचानमा जोडिएको बताउँदै स्थानीयको सक्रिय भूमिकाले बजारलाई सफा, सुरक्षित र व्यवस्थित राख्ने जिम्मेवारी रहने उल्लेख गरे।
उनका अनुसार बीपी उद्यानमा रहेका व्यवसायीका कारण अढाई वर्षअघिको प्रारम्भिक योजना ढिलाइ भए पनि अब उक्त परिसरलाई हरित पार्कका रूपमा विकास गरिनुका साथै अस्थायी बजारलाई छपकैया बजारमै सारिनेछ।
सिंहले थपे, “हाम्रो लक्ष्य स्पष्ट छ: वैभव वीरगन्ज। व्यवस्थित बजार, हरित क्षेत्र, सेवा सुधार र कानुनको कडाइसहित महानगर अघि बढिरहेको छ।”
सो अवसरमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताउँदै अव्यवस्थित थोक बजार नहुँदा सडकछेउमा बिक्री गर्नुपर्ने बाध्यता अब अन्त्य हुने जनाए।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा १४ युनिटका २८ सटर सञ्चालनमा आएका छन्। बजारमा बिजुली, पानी, शौचालय, ढल व्यवस्थादेखि सुरक्षा प्रणालीसम्म सबै आधारभूत सुविधा उपलब्ध छन्।
दोस्रो चरणमा थप ७० लाख लगानी गर्दै संरचना र युनिट विस्तार गर्ने योजना रहेको उनले बताए। खुद्रा र थोक कारोबारलाई अलग संरचनाबाट सञ्चालन हुने भएकाले व्यवसायी दीर्घकालीन योजनासहित निश्चिन्त भएर कारोबार गर्न सक्ने उनको भनाइ छ।
बजार रहेको जग्गा करिब तीन दशकदेखि विवादमा परे पनि २०८१ असोज १६ मा मालपोत कार्यालयले दाबीहरू खारेज गर्दै जग्गा नेपाल सरकारको नाममा दर्ता गरेपछि निर्माण कानुनी रूपमा सुरक्षित भएको महानगरले जनाएको छ।
उद्घाटन कार्यक्रममा उपस्थित व्यवसायीहरूले दीर्घकालीन संरचना तयार भएपछि लगानी सुरक्षित हुने, भण्डारण सुधारिने र किसानसँग सीधा कारोबार सहज हुने विश्वास व्यक्त गरे।