बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको मुख्य गेट अगाडि बुधबारदेखि सवारी चालकहरू धर्नामा बसेका छन्। चालकहरूले मधेश प्रदेशका जिल्लामा ट्राफिक प्रहरीले पराल र भुस बोकेका गाडीहरूलाई अनावश्यक दु:ख दिइरहेको आरोप लगाएका छन्।
चालकहरूको धर्नाका कारण बुधबार दिउँसोसम्म पथलैयामा मात्र डेढसयभन्दा बढी गाडी सडकमा रोकिएका छन्। बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि पराल तथा भुस बोकेका गाडीहरू रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।
चालकहरूले गुनासो गर्दै भने, “किसानका उत्पादन बोक्ने सवारीलाई सहुलियत दिने सट्टा उल्टै दु:ख दिइरहेको छ। प्रमुख सिजनमा अवरोध सिर्जना हुँदा हामी मारमा परेका छौं।”
नेपाल च्याउ उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले भने, “ट्राफिकले गाडी रोक्ने पहिलो पटक होइन, बारम्बार रोक्ने मिलाउने गरिरहेको छ। अहिले मुख्य सिजनमा अवरोध हुँदा किसान समस्या भोग्न बाध्य छन्।”
तर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालले भने, “भब्बर लोडका कारण राजमार्गमा क्षति र दुर्घटनाको जोखिम बढिरहेको छ। पराल तथा भुस बोकेका गाडीहरूले ट्रक र ट्रयाक्टरको मालसामान राख्ने भाग भन्दा माथि सामान राख्ने भएकाले जोखिम बढेको छ।”
यस घटनाले तराई–हेटौंडा, चितवन, धादिङ, काठमाडौं, पोखरा जस्ता क्षेत्रको यातायातमा समेत प्रभाव परेको छ।