त्रिवि क्रिकेट मैदानमा आज अपराह्न ४ बजे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्स र चितवन राइनोज बीच रोमाञ्चक भिडन्त हुने भएको छ। प्रतियोगितामा तीन खेल खेलिसकेको विराटनगर अहिलेसम्म अपराजित छ भने दुई खेल खेलेको चितवनले एक जित र एक हार निकालेको छ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेटले, र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै लगातार जीतको श्रृंखला कायम राखेको छ। यसका साथ विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ।
चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको भए पनि दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। दुई खेलमा मात्र २ अंक जोडेको चितवनको शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने सम्भावना आजको खेलमा निर्णायक हुनेछ।
चितवन टोलीमा कप्तान कुशल मल्लसहित विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब रहेका छन्।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने रहेको टोलीमा बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ रहेका छन्।