जेनजी आन्दोलनपछिको संकट–व्यवस्थापनदेखि भयरहित निर्वाचनसम्म सरकार आफ्नो ‘अर्जुन दृष्टि’ बोकेर अघि बढेको बताउँदै गृहमन्त्रीको स्पष्ट सन्देश: गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न अत्यन्तै आतुर र प्रतिबद्ध रहेको बताएका छन्।
लुम्बिनी प्रदेशद्वारा भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले सुशासनको आधार मजबुत बनाउँदै संक्रमणकालीन जटिलताबाट देशलाई सामान्य अवस्थातर्फ ल्याउन सरकार सफल भएको दाबी गरे। उनका अनुसार, जेनजी आन्दोलनपछिको विषम वातावरणलाई पार गर्दै आजको स्थिरता सबै तह–तप्काका सुरक्षाकर्मी, प्रशासन र सरकारको अथक प्रयासको नतिजा हो।
‘अहिलेको सामान्य परिस्थितिसम्म आइपुग्न सबैको समर्पण र मिहिनेत महत्त्वपूर्ण रह्यो,’ उनले भने, ‘अब समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु नै हाम्रो पहिलो कर्तव्य हो।’
अर्यालले भयरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सरकारले चालिरहेका कदमहरूबारे जानकारी दिँदै चुनाव रोकिन्छ वा हुन सक्दैन भन्ने सार्वजनिक आपत्तिहरूलाई परिणाममैतिको कामले जवाफ दिइने बताए। ‘यो सरकार कसैको निगाहामा बनेको होइन,’ उनले भने, ‘देशको विशेष परिस्थितिले दिएको जिम्मेवारी पूरा गर्न हामी आएका हौं।’
उनका अनुसार, सुशासन बलियो पार्ने, भविष्यमा बिगार्न नसक्ने प्रणालीगत सुधार गर्ने र सुव्यवस्थित वातावरणमा सत्ता हस्तान्तरण गर्ने लक्ष्यसहित सरकार अघि बढेको छ।
उक्त सुरक्षा गोष्ठीमार्फत लुम्बिनी प्रदेशका सुरक्षा चुनौतीहरूको समीक्षा, आवश्यक रणनीति निर्माण र निर्वाचन पूर्व–पश्चात् तयारीबारे विस्तृत छलफल हुनेछ। गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको छ।