डा. विश्वेश्वरप्रसाद यादव बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयका निर्देशक हुन् । जलवायु परिवर्तनका कारण कृषिमा पर्नसक्ने असर र यसको समाधानका उपायमा विगत लामो समयदेखि अध्ययन अनुसन्धानमा सक्रिय यादव बदलिएको मौसमी चक्रबाट बालीनाली जोगाउन खेती प्रणालीमै पुनरावलोकनको खाँचो औंल्याउँछन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट नजोगाउने हो भने अर्थतन्त्र नै संकटमा पर्ने बताउने यादव कृषिमा अनुसन्धान, विकास र प्रचारप्रसारका निकायबीच समन्वय हुन नसकेकोमा भने चिन्तित देखिन्छन् । तहगत सरकारका निकायबीच प्रभावकारी सहकार्य भएमात्रै कृषिमा अहिले देखिएको समस्याको निराकरण गर्न सकिनेमा स्पष्ट निर्देशक यादवसँग मधेशमा कृषि कर्मका चुनौती र समाधानका उपायबारे मध्य नेपालले गरेको कुराकानी :
जलवायु परिवर्तले मधेशको कृषिमा कस्तो असर पारेको छ ?
दश वर्ष अगाडिदेखि नै अध्ययन गर्दा अनपेक्षित अवस्थाहरू आइरहेको छ । ग्लोबल वार्मिङको कारणले मौसम परिवर्तन भएको छ । किसानहरूलाई जलमैत्री किसिमका बालीनालीहरूमा जोड दिनुपर्छ भनेर भनेका छौं । तर, ग्रामीण क्षेत्रसम्म पु¥याउन सकेको छैन । परम्परागत खेती प्रणालीले गर्दा कृषकहरू धेरै ठूलो हानी नोक्सानीमा परेका छन् । मनसुन सक्रिय नभएकोले धान लगाउने समयमा किसानहरूले धानबाली लगाउन गाह्रो भयो । मोटर, नदी, डिप बोरिङ्ग, स्यालो ट्युवेल, तालतलैयाबाट निर्भर थिए । पानी रिचार्ज नहुदाँ पानीको सतह तल गयो । किसानले चाहेको पानी पाउन सकेनन् । नहरमा पनि पानी सुक्यो । आकाशबाट पनि पानी पर्न सकेन । पानीबिना धान बाली लगाउन कल्पना पनि गर्न सकिँदैन । मध्य सिजनमा स्यालो ट्युवेल र डिप ट्युवेलबाट पानी लगाए पनि धान कसैले रोप्न भ्याए, कसैले बीउ खसाल्न भ्याए । लामो खडेरीले गर्दा किसानले छरेको बीउ उखेलेर रोप्नुपर्ने बेलामा ब्याडमा नै सुकेर गयो । जलवायु परिवर्तनले गर्दा जुन समयमा मनसुन सक्रिय हुनु पर्ने हो नभएर भयावह स्थितिको सृजना भएको छ । वर्षाको अवस्था हेर्दा मनसुन सक्रिय हुने समय परिवर्तन भइसकेको छ । असारको १५ देखि साउनको १५ सम्म पानी पर्ने सिजन धेरै हुन्छ । अहिले त्यो पानी दशैंभन्दा पहिला ठूलो पानी प¥यो । चैते धान लगाएका किसानले धान कटेर फेरि दोस्रो बाली पनि धान लगाउँछन् । त्यो धान काट्ने बेलामा एक्कासी २ दिनसम्म परेको पानीले गर्दा खेतमा नै उम्रेको छ । पानी नभएको बेलामा खडेरी र कटानीको बेलामा पानी बढी भएर समयमा भकारीसम्म ल्याउन सक्नु भएन ।
मौसमी चक्र परिवर्तन हुदाँ खाद्ययान्न उत्पादन प्रभावित भएको हो ?
अहिलेको वर्ष खडेरीले सबै भन्दा ठूलो नोक्सानी भयो । बेमौसमी वर्षाले गर्दा अघिल्लो समयमा पाक्ने धानलाई नोक्सान भयो । मध्य समयमा काट्ने धानलाई ठूलो असर ग¥यो । पछाडि पाक्ने जातको धान फूल लाग्न लागेको समयमा पानीले फूल झरेर नोक्सान गरेको छ । पहिला पाक्ने, बीचमा पाक्ने, पछि पाक्ने सबै धानमा असर पारेको छ । मधेशमा यो वर्ष ३ लाख मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरेको छु । गहँु, मकै, कोदोभन्दा पहिलो प्राथमिकतामा चामल हुन्छ । यो वर्ष उत्पादन कम भएकोले चामलको मूल्य पनि बढ्ने र मागअनुसारको वितरण हुन सक्दैन कि भन्ने छ । ४० अर्बको धान भारतबाट आइरहेको थियो । अब आयातको लागत अझ बढ्ने अनुमान गरेको छु । मौसमी चक्र परिवर्तन हुनाले नेपालको कृषिमा ठूलो संकट निम्त्याउने देखिएको छ ।
मौसमी चक्र परिवर्तबाट कृषिलाई जोगाउन केकस्ता काम भइरहेका छन् ?
नेपाल कृषि अनुसन्धान परिषदले विशेष गरेर धानको क्षेत्रमा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले अध्ययन र अनुसन्धानको क्रममा विगतको १० वर्षमा जलवायु परिवर्तनको कारण वर्षाको अवस्थामा परिवर्तन भइरहेको देखाएको हो । अबको समयमा दश वर्षअघिको परम्परागत प्रविधि अपनाएमा ठूलो धोका हुन्छ । अबको हावापानीसँगको चुनौतीलाई निराकरण गर्न अहिलेको मौसमसँगको प्रविधि दिनुपर्ने वैज्ञानिकहरूले भनेका छन् । असार १५ मा लगाइने धानको समयलाई परिवर्तन गर्नु पर्छ । ढिलो पानी परिरहेको छ भने धानलाई नोक्सानी नगर्ने गरी बीउ उत्पादन गर्नु पर्छ । धानका जातहरूमा सुक्खा सहने जात, डुबान सहन सक्ने जातहरू, खडेरी र डुबान दुवै सहन सक्ने जातहरू राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले विकास गरेको छ । खडेरी भएमा, उच्च स्थानमा भएको खेतमा सुक्खा धानका १ देखि ६ सम्मको धानका जातहरू सिफारिस गर्ने गरेका छौं । धेरै पानी हुने स्थानमा स्वर्णसब १ र साम्बा मन्सुली धान लगाउन सकिन्छ । खडेरी र डुबान दुवै सहने बहुगुणी १, बहुगुणी २ धान सिफारिस गरेका छौं । प्रदेश सरकारसँग सहकार्य गरेर कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम भइरहेको छ । यसमार्फत किसानहरूलाई जानकारी दिएका छौं । वैज्ञानिकको काम नयाँ प्रविधि दिने हो । यसको प्रचारप्रसार गर्ने काम प्रदेश सरकार भूमि तथा व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि ज्ञान केन्द्रहरू, स्थानीय तहका पालिकाहरूको शाखामा भएका कृषि शाखाहरूले किसानको घरघरमा गएर प्रविधिको जानकारी गराउनु पर्दछ । यो वर्षभन्दा आउने वर्षमा झनै भयावह अवस्था आउने देखिएको छ ।
अनुसन्धा कर्ताको नयाँ प्रविधि र किसानबीच किन समन्वय भएन, समस्या कहाँ छ ?
अनुसन्धान र प्रसार साइकलको दुई पाङ्ग्रा हो । तर, अहिले अनुसन्धान र प्रसारमा सहकार्यको कमी छ । अनुसन्धान र प्रविधि सबै ठाउँमा पुग्न कर्मचारी र साधन स्रोतका कमी छ । स्थानीय तह, कृषि ज्ञान केन्द्रले गरेको योजना अनुसन्धानकर्तालाई थाहा हँुदैन । प्रदेश सरकार, अनुसन्धानले गरेको कुरा किसानले थाहा पाउन सक्दैनन् । अहिले नार्कले सहकार्यलाई जोड दिएको छ । गाउँस्तरमा कार्यशाला गोष्ठी गराएर रोग, किरा र धानको उत्पादनमा प्रदेशस्तरीय कृषि प्रविधि कामदार समूहमा छलफल राख्ने गरेका छौं । संघीय सरकारबाट कार्यविधि बनाएर अनुसन्धानलाई प्रसार, उद्योग, शिक्षा, किसानसँग एकद्वार प्रणालीमा जोड्न सकेमात्र कृषिमैत्री र नेपालको अर्थतन्त्र सुधार गर्न सकिन्छ ।
कृषि प्रणालीमा पुनरावलोकन गर्ने अवस्था आएको हो ?
नेपालको अर्थतन्त्रमा संकट आउँछ । तुरुन्त कार्ययोजना बनाएर कृषिको अर्थतन्त्र सुधार गर्न सरोकारवाला निकायलाई एकद्वार प्रणालीमा जोडेर सिँचाइको लागि दीर्घकालीन व्यवस्थापनमा प्रणालीहरूको विकास गर्नु पर्छ । तालतलैया, पोखरी बनाएर ग्रामीण क्षेत्रमा पानी रिचार्ज गर्नुपर्छ । सानासाना नदीहरूलाई ठूलो नदीमा परिणत गरेर बाँध बनाई सिँचाइमा प्रयोग गर्न सक्छौं । मधेशका युवा विदेशिएका छन् । महिला र वृद्धमात्र बढी भएकाले एकजनाले धेरै खेती गर्न सक्ने गरी महिला र वृद्धामैत्री यान्त्रीकरणमा जोड दिनु पर्छ । किसानलाई मलखादको सुनिश्चितता गरिदिनु पर्छ । अहिले कृषि सामाग्री र साल्ट ट्रेडिङ्ग कम्पनीबाट ग्लोबल टेन्डर र जीटुजी प्रक्रियाबाट भारत वा तेस्रो मुलूकबाट ल्याएर दिइरहेको छ । २९ अर्बको बजेटले ४ लाख मेट्रिक टन मल खरिद हुन्छ । तर, ९ लाख मेट्रिक टन मलको माग भएको छ । मलखादको लागि सरकारले छुट्टै कार्यविधि बनाउनु पर्छ । रासायनिक, जैविक र अर्गानिकको मिश्रणबाट खेती गर्नेतर्फ ध्यान दिनु पर्छ । माटोको उर्वराशक्ति घट्दै गइरहेको अवस्थामा माटोको उर्वराशक्ति बढाउने कार्यक्रम ल्याउनु पर्छ । किसानले उत्पादन गरेको सामग्रीको बजारभाउ सरकारले समयमा नै तोकिदिनु पर्छ । उद्योगसँग किसानलाई जोडिदिने काम गर्नुपर्छ ।
सिर्सिया नदीको दूषित पानीले बालीनालीमा कस्तो असर पारेको छ ?
वीरगञ्ज–पथलैया कारिडोरका उद्योगहरूको वेस्टेज जाने सिर्सिया नदी नै हो । हरेक उद्योगले वाटर प्लान्ट राखेर ट्रिट्मेन्ट गर्नुपर्ने भए पनि सबै उद्योगको प्लान्ट नभएको र भएका उद्योगहरूले पनि कहिलेकाँही मात्र प्लान्ट सञ्चालन गर्ने गरको पाइन्छ । सिर्सिया नदीको पानीको गुणस्तर हेर्ने हो भने फिजिकल, बायोलोजिकल र केमिकलको अवस्था उच्च प्रदूषणमा छ । नदीको छेउमा गएर बस्न सक्ने अवस्था छैन । मानिस वा जनावरले नदीको पानी छोएमा छालाका रोगहरू हुन्छ । सिँचाइमा प्रयोग गर्दा हेभी मेटल लिड्, काडियम, आर्सेनिक सबै नदीमा नै जान्छ । परवानीपुर, भलुही, वीरगञ्ज महानगरका नदी आसपासका किसानहरू दमकलको प्रयोगबाट तरकारीमा पानी लगाइरहेका छन् । साग, मुला, गाजर, काउली खेतीमा हेभी मेटलको मात्रा बढी जम्मा भएको हुन्छ । हेभी मेटल भएको तरकारी किनेर खादाँ विभिन्न किसिमको दीर्घकालीन रोग लिभर सियोसिस्, क्यान्सर, मृगौला फेल भएको छ । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा पनि २ वर्षदेखि सिर्सिया नदीको पानी परीक्षण शुरू गरेका छौं । बालीको उत्पादकत्वमा पनि ठूलो प्रभाव पारेको छ । बालीलाई नाइट्रोजन, सल्फर, आइरन, फस्फोरस, क्याल्सियम चाहिन्छ । तर, पानीमा लिडको मात्रा बढी छ । तरकारीको पातहरू पहेलो हुने, बोट ठूलो नहुने, बाला लागे पनि मर्ने हुन्छ ।