बाराको सिमरा क्षेत्रमा बुधबारदेखि सुरु भएको विवाद र झडपपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति सुरक्षा सुदृढ गर्न निर्देशन दिएको छ। आयोगले विवादको प्रभावकारी छानबिन, घाइतेहरूको उपचार सुनिश्चित गर्नुका साथै आगामी दिनमा यस्ता घटनाको दोहोरिन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, “शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरण सिर्जना गर्न, घटनाको छानबिन गर्न तथा घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न आयोग नेपाल सरकारलाई निर्देशन दिन्छ।”
विज्ञप्तिमा उल्लेख छ, बुधबारको विवादमा आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढ्दा एयरपोर्टको गेटमा क्षति पुगेको, उडान प्रभावित भएको र एमालेका केही नेताहरू सिमरा जान असमर्थ भएका थिए। स्थानीय प्रशासनले त्यसपछि सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।
आयोगले पाएको प्रारम्भिक विवरण अनुसार झडपमा पाँच जना घाइते भएका छन्। घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र उनीहरूले स्थानीय प्रहरीमा जाहेरी दिएको जानकारी आयोगले सार्वजनिक गरेको छ।
आयोगले नेपाल सरकार र सबै सरोकारवालाहरूलाई चेतावनी दिंदै भनेको छ, “देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ का लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण र संविधानमा उल्लेखित स्वतन्त्रता हकमा गम्भीर असर पार्छ।”