बुद्ध इन्क्युबेशन सेन्टर (BIC), बीपीसी र हेल्भेटास नेपाल–इनक्लिन परियोजनाको सहकार्यमा उद्यमशीलता विकास तथा लगानी वातावरण सुधार गर्न लक्षित ४ दिने आवासीय बुटक्याम्प आगामी नोभेम्बर १९ देखि २२ सम्म वीरगञ्ज पब्लिक कलेजस्थित बुद्ध इन्क्युबेशन सेन्टरमा आयोजना हुने भएको छ।
बुटक्याम्पमा नवप्रवर्तनशील सोच भएका आकांक्षी तथा स्थापित उद्यमी, सम्भावित लगानीकर्ता र उद्योग–व्यवसायका विज्ञहरू सहभागी हुनेछन्। कार्यक्रममार्फत व्यवसायिक विचार निर्माण, बिजनेस मोडेल विकास, लगानीकर्तासँग प्रत्यक्ष अन्तरक्रिया, नेटवर्किङ, समूहगत अभ्यास तथा प्रस्तुतीकरण जस्ता व्यावहारिक सत्रहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमपछि सहभागी व्यवसायहरूलाई ६ महिनासम्म परामर्श र मोनिटरिङ प्रदान गरिनेछ। यसले उद्यमी तथा लगानीकर्ताबीचको समन्वय मजबुत बनाइ स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
सहभागी छनोट प्रतिस्पर्धात्मक
कर्णाली र मधेश प्रदेशमा इनक्लिन परियोजनामा आबद्ध नवप्रवर्तनशील उद्यमीहरूलाई लक्षित गरी आवेदन खुला गरिएको थियो। प्राप्त आवेदनमध्येबाट मेरिट–आधारित छानाइ मार्फत उत्कृष्ट र सम्भावनायुक्त प्रस्ताव मात्र अन्तिम चरणमा छनोट गरिएको बुटक्याम्प संयोजकहरूले बताए।
सहकार्य तथा संस्थागत भूमिका
कार्यक्रम सफल बनाउन हेल्भेटास नेपाल–इनक्लिन परियोजना रणनीतिक साझेदारका रूपमा रहँदै आएको छ। साथै FNCCI, BiCCI, वीरगञ्ज महानगरपालिका, NYEF, पुर्बाञ्चल विश्वविद्यालय र मधेश विश्वविद्यालयलगायत संस्थाहरूले पनि सहकार्य गर्नेछन्।
बुद्ध इन्क्युबेशन सेन्टरले उद्यमशीलता विकासमा आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति, प्रशिक्षक तथा व्यवसायिक मार्गदर्शन उपलब्ध गराउँदै आएको छ। वीरगञ्ज पब्लिक कलेजले क्षेत्रीय स्तरमा उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धनमा नेतृत्वकारी भूमिका निभाउँदै आएको छ।