आगामी निर्वाचनको तयारी तीव्र बन्दै गएसँगै मतदाता दर्ता अभियानले नयाँ रफ्तार लिएको छ। बुधबार मात्र देशभर ३० हजारभन्दा बढी नयाँ मतदाता नामावलीमा थपिएका छन्।
निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजेसम्म नयाँ मतदाताको कुल संख्या २ लाख ३९ हजार ९४० पुगेको छ। तीमध्ये बुधबार मात्रै ३० हजार ३७३ जनाले नाम दर्ता गराएका हुन्। आयोगका अनुसार यही कात्तिक ३० गतेसम्म मात्र मतदाता नाम दर्ता गर्ने समय खुला रहने भएकाले अन्तिम चरणमा दर्ता अभियान झन् तिव्र भएको छ।
आयोगका अधिकारीहरूका अनुसार पछिल्ला केही दिनदेखि मतदाता नामावली दर्ता गर्ने कार्यमा तीव्रता आएको छ। यसअघिभन्दा सहज बनाउँदै आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ।
यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम गरिएको आयोगले जनाएको छ। राष्ट्रिय परिचयपत्रको जैविक विवरण प्रयोगमा आएपछि अब दूरदराजमा रहेका र व्यक्तिगत रूपमा निर्वाचन कार्यालय पुग्न नसक्ने नागरिकलाई पनि मतदाता दर्ता गर्न सहजता हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनका तयारीबारे छलफल गरेकी थिइन्। छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि उपस्थित थिए।
घिमिरेले आयोगलाई राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत संकलित जैविक तथ्यांक उपलब्ध गराउन विभाग तयार रहेको बताए। उनका अनुसार, “राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकलाई स्वतः मतदाता नामावलीमा समावेश गर्न सक्ने व्यवस्था कार्यान्वयनमा जाँदैछ।”
आयोगले यसलाई मतदाता दर्ता प्रणालीमा ठूलो प्राविधिक फड्कोका रूपमा लिएको छ। आयोगका अधिकारीहरूका अनुसार, अब मतदाता नामावली र राष्ट्रिय परिचयपत्रको डेटा एकीकृत भएपछि भविष्यमा पुनःदर्ता, दोहोरो नामावली र पहिचानसम्बन्धी समस्या न्यून हुने अपेक्षा गरिएको छ।