चार वर्षअघि नेकपा (एमाले) बाट अलग भई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन्।
झाँक्री र श्रेष्ठले २०७८ सालमा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। तर, पछिल्लो राजनीतिक पुनर्संयोजनसँगै उनीहरू पुनः पुरानै दलमा फर्किएका हुन्।
गत कात्तिक १९ गते नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रलगायत दलबीच भएको एकीकरणपछि उत्पन्न नयाँ राजनीतिक समीकरणले उनीहरूलाई एमालेतिर फर्कन प्रेरित गरेको बताइएको छ।
सोमबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजित “घर फर्क राष्ट्रिय अभियान” अन्तर्गत झाँक्री र श्रेष्ठसहितका नेताहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराइएको हो।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली ले उनीहरूलाई पार्टीको चुनाव चिह्न सूर्य प्रदान गर्दै स्वागत गरे। त्यसको प्रतीकस्वरूप झाँक्री र श्रेष्ठले अध्यक्ष ओलीलाई कलम चिह्न हस्तान्तरण गरे।
सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, बबी चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटा लगायतका नेताहरू पनि एमालेमा पुनः प्रवेश गरेका छन्।