राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले मेयर बालेन साहलाई सुकुमवासीका लागि ठोस र राम्रो घर बनाइदिन आग्रह गरेका छन्।
सुकुमवासी बस्तीमा शनिबार आयोजित कार्यक्रममा उनले मेयर साहलाई उद्दिग्रस्त गर्दै भने, “यो सुकुमवासी समस्या ०५८ सालदेखि छ। तपाईंलाई सिटी घिनलाग्दो लाग्छ भने, सरकारी जग्गा छ, त्यसमा राम्रो घर बनाइदिनुस्।”
प्रसाईंले मेयर साहलाई चेतावनी दिँदै भने, “तपाईं एसी रुममा बस्नुहुन्छ, घर छ, जमिन्दारको छोरो, इन्जिनियर पढ्नुभयो। एसीमा बसेर दारु खानुहुन्छ, स्टाटस लेख्नुहुन्छ र फेरि डिलिट गर्नुहुन्छ। तर गरिबको घर, जग्गा छैन। शहरलाई राम्रो बनाउने नाममा तपाईंले केवल लात हानेर खेद्नुभयो।”
उनले थपे, “गरिबका छोरा–छोरी खोलाको डिल वा सडकको फुटपाथमा बस्न बाध्य छन्। साग, मकै बेचेर पेट पाल्दा तपाईंले शहरलाई खेद्नुभयो। यसका कारण काठमाडौंमा व्यापार–व्यवसाय चौपट भएको छ र सटरहरू बन्द हुँदै गएका छन्।”
प्रसाईंले राजनीतिक दलहरूलाई पनि आलोचना गर्दै भने कि सुकुमवासीलाइ भोट बैंकको रूपमा मात्र प्रयोग गरिएको छ र उनीहरूको समस्या समाधान गरिएको छैन। उनले बस्ती हटाउन आउनेहरूसँग भिड्ने चेतावनीसमेत दिएका छन्।