नेकपा माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलसँग एकता गर्ने निर्णयसँगै विभाजन भएको छ। पार्टीका पूर्व उपमहासचिव जनार्दन शर्मा, पूर्व सचिव राम कार्की र पूर्व स्थायी समिति सदस्य अञ्जना विषुङ्खेललगायत नेताहरूले माओवादी परित्याग गर्दै नयाँ राजनीतिक अभियान घोषणा गरेका हुन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियान सुरु गरेको घोषणा गरे।
शर्माले माओवादी नेतृत्वले दशकौँअघि भएको जनयुद्धका लक्ष्य र पछिल्लो पुस्ताको जेन–जेड आन्दोलनले उठाएका मागविपरीत बाटो लिएकाले आफूहरू एकता प्रक्रियाबाट अलग भएको बताए।
‘पार्टीको मूल नेतृत्वको व्यवहार, दिशा र आचरणले क्रान्तिको मर्म विस्थापित गरेको छ,’ उनले भने, ‘त्यही कारण हामीले नयाँ बाटो रोजेका हौँ।’
उनले विगतमा माओवादी नेतृत्वका कमजोरी र गलत आचरणमा सहभागी भएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्ने प्रतिबद्धता जनाए।
‘विगतका हाम्रा गल्ती स्वीकार गर्दै नयाँ सोच र ऊर्जा सहित अघि बढ्ने छौँ,’ शर्माले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक तथा राजनीतिक प्रयास सुरु गरेका छौँ।’