नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि कर्णाली याक्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले बुधबार सामाजिक सञ्जालमार्फत ‘कस्ट्युम अफ याक्स’ शीर्षकमा पोस्ट गर्दै जर्सीको अनावरण गरेको हो।
जर्सी सार्वजनिक गर्दै टोलीले लेखेको छ —‘कठोर मेहनत, निष्ठा, उत्साह र क्रिकेटप्रतिको अदम्य आत्मालाई समर्पित यो डिजाइन केवल कपडा मात्र होइन, कर्णाली याक्स परिवारप्रतिको श्रद्धा र गौरवको प्रतीक हो। क्रिकेटमा बाँच्ने र विश्वास गर्ने सबैका लागि यो जर्सी समर्पण र गर्वको प्रतीक बनेको छ।’
गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो क्वालिफायरसम्म पुगेको कर्णाली याक्सले सो सिजनमा तेस्रो स्थान हासिल गरेको थियो।
टोलीले यसपटक मार्की खेलाडी सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिश विक्रमसिंह ठकुरीलाई रिटेन गरेको छ।
अक्सनमार्फत कर्णालीले पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्रीलाई अनुबन्ध गरेको छ।
यसैबीच, टोलीले पहिलो विदेशी खेलाडीका रूपमा मार्क वाटलाई अनुबन्ध गरेको छ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने तय भएको छ।