प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् ।
तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वका अवसरमा मंगलबार जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेकी हुन् ।
शुभकामना सन्देशमा भनिएको छ, “कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । त्यसैले कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔं ।”
प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ आगामी निर्वाचनको वातावरण निर्माणमा सरकार दत्तचित्त भएर लागेको उल्लेख गरेकी छन् । उनले राजनीतिक संवाद र सुरक्षास्थिति सुधारका प्रयास सन्तोषजनक ढङ्गले अघि बढिरहेको पनि बताएकी छन् ।
सन्देशमा भनिएको छ, “फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौं ।”
प्रधानमन्त्री कार्कीले यस वर्षको परिवर्तनको आकांक्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै भनिन्, “भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ । यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशिला पनि तयार भएको छ ।”
उनले दीपावलीको उज्यालोसँगै आउने यी पर्वहरूलाई आशा, विश्वास र समृद्धिका प्रतीकका रूपमा स्मरण गर्दै भनिन्, “यी पर्व अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयका प्रतीक हुन्, जसले हामीलाई एकताबद्ध भएर उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छन् ।”