आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोट अन्तर्गत सुपर-६ चरणमा आज नेपाल र ओमानबीच निर्णायक भिडन्त हुँदैछ। नेपाली समयअनुसार खेल राति पौने ९ बजे ओमान क्रिकेट एकेडेमीमा सुरु हुनेछ।
सुपर-६ मा शीर्ष दुई टोली ओमान र नेपाल दुवै ६-६ अंकसहित अपराजित छन्। आजको खेलमा जित हात पार्ने टोलीले सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकप २०२६ मा स्थान सुनिश्चित गर्नेछ।
यद्यपि कतारले आज जापानमाथि ३ विकेटले जित हासिल गरेसँगै नेपाल र ओमानको विश्वकप प्रवेश समीकरणमा केही रोचक मोड आएको छ। युएई र सामोआबीचको खेलको परिणामले पनि शीर्ष तीनमा स्थान बनाउने समीकरण निर्धारण गर्नेछ।
छनोटबाट शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउने व्यवस्था छ। नेपाल र ओमान दुवै टोली पछिल्लो समय उत्कृष्ट फर्ममा छन्। सुपर-६ मा नेपालले युएई र कतारलाई पराजित गरेको छ भने ओमानले पनि युएई र कतारलाई हराइसकेको छ।
टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म ८ खेल भएका छन्, जसमा नेपाल ५ खेलमा विजयी रह्यो, ओमानले २ खेल जित्यो भने १ खेल टाइ भयो। टाइ भएको खेल सुपर ओभरमा ओमानले जितेको थियो।
पछिल्लो पटक नेपाल र ओमानबीच सन् २०२४ को अक्टोबरमा क्यानडामा ट्राइ सिरिज खेलमा नेपाल विजयी भएको थियो।
नेपालका बलरहरूमा सन्दीप लामिछानेले ४ खेलमा १० विकेट लिइसकेका छन् भने दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले ४ खेलमा ४-४ विकेट लिएका छन्। ओमानका लागि जितेन रमान्डीले ७ विकेट लिएका छन् भने नदीम खान, शकील अहमद र शाह फैसलले ५-५ विकेट हात पारेका छन्।
ब्याटिङमा नेपालका कुशल भुर्तेलले १२१ रन बनाएका छन्, रोहित पौडेल ११२ रन र आसिफ शेख १०२ रन बनाइसकेका छन्। ओमानका जतिन्दर सिंहले ११८ रन बनाएका छन्, तर अन्य ब्याटरले चार खेलमा सय रनको आँकडा पार गर्न सकेका छैनन्।
आजको खेल दुवै टोलीका लागि निर्णायक सावित हुनेछ र विजेता टीमले विश्वकपमा स्थान सुनिश्चित गर्नेछ।