सुनको भाउले दिनदिनै नयाँ उचाइ छोइरहेको छ । सुनको मूल्यअन्तर पछिल्ला वर्षहरूमा झन्झन् बढ्दै गएको छ । बितेको १ वर्षका हरेक महीना नेपाली बजारमा रहेको सुनको मूल्य बढेको देखिन्छ ।
अन्तरराष्ट्रिय बजारमै सुनको भाउ अकाशिएकाले नेपाली बजारमा पनि मूल्य उच्च भएको हो । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि बढ्ने गरेको छ । सुन अन्तरराष्ट्रिय बजारबाटै नेपाल भित्रने भएकाले यस्तो भएको हो । लगानीकर्ताहरूले विश्वव्यापी आर्थिक र राजनीतिक अनिश्चितताप्रति चिन्ता व्यक्त गर्दै सुरक्षित लगानीका विकल्प खोजिरहेकाले सुनको भाउ उकालो लागेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापारमा असर पर्ने गरी भन्सार दर व्यापक बढाएपछि सुनको भाउ आकाशिएको हो । पछिल्लो समय ट्रम्पले भारत, चीन, मेक्सिको, क्यानडा, चीन आसियान राष्ट्रहरू, यूरोपेली संघलगायतलाई पारस्परिक शुल्कअन्तर्गत शतप्रतिशतसम्म भन्सार शुल्क वृद्धि गरेका छन् । गएको अप्रिलमा उनले गरेको घोषणायता सुनको मूल्यमा एकतिहाइले वृद्धि भइसकेको छ ।
नेपालमा सुनको भाउ स्थानीय मुद्रामा अकाशिनुको अर्को कारण अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु पनि हो । गएको १ वर्षमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको सटही दर सबैभन्दा बढी कमजोर भएको छ । सुन किन्न स्थानीय मुद्रामा धेरै तिर्नुपर्ने भएकाले नेपाली बजारमा भाउ आकाशिएको सुनचाँदी व्यवसायी निरज सर्राफ बताउँछन् ।
मुद्रास्फीति वृद्धि भई बेरोजगारी दर बढेको अमेरिकाका साथै आर्थिक शिथिलताको सामना गरिरहेका क्यानडा, बेलायत, यूरोपेली संघ, अस्ट्रेलिया, मेक्सिको, रूसलगायत धेरै देशका केन्द्रीय बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकको ब्याजदर घटेपछि लगानीकर्ता लगानी सुरक्षणका लागि सुनचाँदीमा आकर्षित भएकाले पनि भाउ बढेको हो ।
रूस र युक्रेन, इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचका युद्ध र तिनलाई भइरहेको अन्य देशको सहयोगले सुरक्षा चुनौतीको वातावरण सृजना भएको छ । त्यस्तै उत्तर कोरियाले गरिरहेको क्षेप्यास्त्र परीक्षणबाट विकसित त्रासले पनि पूँजी सुरक्षणका लागि सुनमा लगानी बढिरहेको व्यवसायीहरूको भनाइ छ ।
ब्रिक्स सदस्य राष्ट्रका केन्द्रीय बैंकहरूले अमेरिकी डलरप्रतिको निर्भरता घटाउने उपायलाई तीव्र बनाउने, विदेशी मुद्राको सञ्चिति विविधीकरण गर्ने र बहुधु्रवीय वित्तीय प्रणाली निर्माण गर्ने रणनीतिक कदमस्वरूप ठूलो परिमाणमा सुन किनिरहेकाले मूल्य बढेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व व्यापारमा रहेको डलरको निर्भरता कम गर्न ब्रिक्स (चीन, भारत, रूस, ब्राजिल, दक्षिण अफ्रिकालगायत) राष्ट्रहरू लागिपरेका छन् । त्यसका लागि उनीहरूका केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन सञ्चित गरेकाले पनि बजारमा सुनको मूल्य बढेको व्यवसायी सर्राफको बुझाइ छ ।