नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरू भएको छ।
शुक्रबारदेखि जारी बैठक शनिबारका लागि तय गरिएको थियो। तर, अध्यक्ष ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बैठक आइतबार बिहान ११ बजेका लागि स्थगित गरिएको थियो।
आजदेखि पुनः सुरू भएको बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।
शुक्रबारको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गराउँदै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए। सो प्रस्तावमाथि वरिष्ठ उपाध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरूले धारणा राखेका छन्।
त्यो क्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा (बादल) र गुरू बरालले आफ्नो विचार प्रस्तुत गरेका थिए।
त्यस्तै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि आफ्नो धारणा राखेका थिए।
बैठकमा उपाध्यक्ष त्रय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र पार्टीलाई नयाँ आयामबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन्।
गुरू बराल, शंकर पोखरेल र प्रदीप ज्ञवाली बाहेक अधिकांश सदस्यहरूले पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएका छन्।
संसद पुनःस्थापनासम्बन्धी ओलीको प्रस्तावलाई भने विशेष समर्थन प्राप्त हुन सकेको छैन। उक्त प्रस्तावको समर्थनमा शंकर पोखरेल, रामबहादुर थापा (बादल) र प्रदीप ज्ञवाली रहेका छन् भने केही सदस्यहरूले मध्यमार्गी विकल्प प्रस्तुत गरेका छन्।
धेरै सदस्यहरू भने पार्टीलाई पुनर्गठन गरी आगामी चुनावको तयारीमा केन्द्रित हुनुपर्ने मतमा छन्।
आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, साथै सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल र लेखराज भट्टले धारणा राख्ने कार्यक्रम रहेको छ।