नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै त्यसको पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा अघि बढ्ने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहालीका लागि संसद् पुनर्स्थापना अनिवार्य भएको बताए।
ओलीले भने, “समयमै कदम चाल्न सकिएन भने पछि ढिला भयो भनेर पछुतो मान्नुपर्ने हुन्छ। कतिपयले भन्छन् फागुन २१ गते चुनाव नभएपछि संसद् पुनर्स्थापनाको माग गरौंला। संसद् विघटन असंवैधानिक, गलत, गैरकानूनी र अलोकतान्त्रिक छ। यो देशहितविपरीत छ। पर्खनुपर्छ भन्ने कुरा छैन।”
उनले प्रतिनिधि सभाको पुनर्स्थापनाको मागमा जनता सडकमा आउने विश्वास व्यक्त गर्दै भने, “हामी अगाडि बढ्ने बेला आएको छ। नेपाली जनता आन्दोलनको आँधी-तुफान सिर्जना गरेर अघि बढ्नेछन्।”
ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको अडानका कारण संसद् विघटन भएको प्रसंग पनि उल्लेख गरे। उनले प्रश्न गरे, “असंवैधानिक ढंगले संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्यो र कहाँबाट प्राप्त गर्यो?”
संसद् र संविधान जोगाएर समाधान खोज्न सबै पक्ष सहमत भएपनि विघटन असंवैधानिक भएको उनले बताए। ओलीले भने, “मसँग कुरा हुँदा संविधान र संसद् कायम राखेर निकास खोज्ने सबैको सहमति थियो। तर राजनीतिक दलहरूलाई पन्छाएर वार्ता गर्ने, सरकार बनाउने र संसद् भंग गर्ने काम भयो। वार्ता सरकारले होइन, अर्कैले गर्नु पर्ने? दुनियाँमा यस्तो कहाँ हुन्छ?”
अन्त्यमा उनले कांग्रेस पनि प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा साथ रहने बताए।