व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गर्दै भनेका छन्, “जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौं।”
चौधरीका अनुसार रोजगारी प्रक्रिया सुरु भइसकेको छ र शहीद परिवारलाई सम्पर्क गर्न सीजीका कर्पोरेट कम्युनिकेशन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने छ।
तर जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका विभिन्न प्रतिष्ठानमा ठूलो क्षति पुगेको छ। समूहका अनुसार, काठमाडौं सतुङ्गलस्थित इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीले भवन, मेसिनरी, उपकरण, तयारी सामान र सवारीसाधन नष्ट भएका छन्। सिजी नेटको सर्भर र डाटा सेन्टर पनि क्षति भएको छ।
राजधानीका अन्य स्थानमा रहेको **सिजी मोटर्स शोरुम (थापाथली) र सर्भिस सेन्टर (हरिसिद्धि)**मा तोडफोड र आगजनी भएको छ। अध्यक्ष विनोद चौधरीको निजी निवास र बर्दघाटस्थित निवास तथा कार्यालयमा समेत तोडफोड र लुटपाट भएको छ।
त्यसैगरी, ललितपुर, विशालनगरका इलेक्ट्रोनिक्स शोरुम तथा चितवन भरतपुरको सीजी ल्यान्डमार्क व्यावसायिक भवनमा लुटपाट र तोडफोड भएको छ। जोरपाटीस्थित सीजी एजुकेसन चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ। आन्दोलनकारीले विद्यार्थी ओसारपसारका लागि प्रयोग गरिने छ वटा गाडीमा पनि आगो लगाएका छन्।
प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “जेनजी आन्दोलन क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यस पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माण यात्रामा अगाडि बढेका छौं र परिवारप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छौं।”
चौधरी ग्रुपले आगामी दिनमा शहीद परिवारको सहयोगसँगै व्यवसाय पुनर्निर्माण र सुरक्षा व्यवस्थामा जोड दिने प्रतिबद्धता जनाएको छ।