वीरगन्ज महानगरपालिका–१०, गीता मन्दिर नजिक गत असोज १४ गते राति भएको शिवम साह कानु ‘गोल्डेन’को हत्यामा संलग्न मुख्य आरोपी अंशु गिरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार पकहामैनपुर गाउँपालिका–४ धोरेका गिरीलाई घटनाको एक सातापछि वीरगन्जबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले गोल्डेनको हत्या ‘कुख्यात ग्याङस्टर’ बन्ने प्रतिस्पर्धा र पुरानो रिसइबी साध्ने प्रतिशोधका कारण भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
गत असोज १४ गते राति करिब ११ः३० बजे भएको झगडामा गम्भीर घाइते भएका करिब २४ वर्षीय गोल्डेनलाई नारायणी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
प्रहरी अनुसन्धानमा मृतक गोल्डेन र विपक्षी समूहबीच पहिले पनि विवाद हुने गरेको पत्ता लागेको छ। घटनाको दिन गहवामाईको मेला हेर्न गएका गोल्डेनमाथि विपक्षी समूहका युवाहरूले पुरानो रिसइबीका कारण एक्ल्याई आक्रमण गरेका थिए।
प्रहरीका अनुसार उनीहरूका समूहले हात, मुक्का र बाँसका भाटा प्रयोग गरी गोल्डेनमाथि आक्रमण गरेका थिए।
मुख्य आरोपी गिरी पक्राउ पर्नुअघि नै प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेहरूमा वीरगन्ज–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ।