राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालै आएको बाढीपहिरोबाट उत्पन्न विपत्तिका विषयमा छलफल भइरहेको छ।
बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका नौ एजेण्डा तय गरिएको छ। बैठकमा विपद्मा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सञ्चालन, राहत वितरण, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपलब्ध गराउने, विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने र अस्थायी आवास निर्माण गर्ने विषयमा छलफल तथा निर्णय हुने तयारी छ।
असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण आएको भारी वर्षासँगै बाढीपहिरोमा करिब ६० जनाको ज्यान गएको थियो। सबैभन्दा बढी क्षति इलाममा पुगेको र बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ।
बैठकमा सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री साथै विज्ञ सदस्यको रूपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि सहभागी छन्।