प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दैछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालैका बाढीपहिरोबाट उत्पन्न विपत्तीका विषयमा विस्तृत छलफल हुने छ।
बैठकका लागि पीडित परिवारलाई राहत वितरण, अवरुद्ध सडक सञ्चालन, अस्थायी आवास निर्माण लगायतका नौ एजेन्डा तय गरिएको छ। बैठकमा विपद् पीडितप्रति समवेदना प्रकट गर्दै जनधनको क्षतिप्रति दु:ख व्यक्त गरिनेछ। साथै, सडक तथा अत्यावश्यक सेवा सञ्चालन, राहत वितरण, मृतक तथा बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपलब्ध गराउने, विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोगको व्यवस्थापन गर्ने लगायत विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
गत असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा ६० जनाको ज्यान गएको छ। सबैभन्दा बढी क्षति इलाम जिल्लामा पुगेको बताइएको छ। बाढीपहिरोका कारण बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौँ रुपैयाँको क्षति भएको छ।
बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आमन्त्रित गरिएको छ। साथै, विज्ञ सदस्यका रूपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि सहभागी हुने छन्।