लगातारको वर्षापछि गएको बाढीपहिरोले इलाम जिल्लाका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ। आइतबार रातिदेखि सोमबार बिहानसम्मको घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी मानवीय क्षति इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा भएको हो।
इलाम नगरपालिका–६ घोसस्थित डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा सोही घरभित्र रहेका ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो।
त्यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ। घर भत्किएको स्थानबाट ४ जनाको शव निकालिएको थियो भने घाइते एक जनाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। सो क्षेत्रमा नायव निरीक्षक सुरेन्द्र डोटेलको कमाण्डमा ७ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। एक जनालाई सकुशल उद्धार गरिएको छ।
यस्तै माङसेबुङ गाउँपालिका–५ पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ।
फाकफोकथुम गाउँपालिका–३ रातोमाटे निवासी ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सुरक्षा निकाय परिचालन गरिएको इलाम प्रहरीले जानकारी दिएको छ।