ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवामा रोजगारी सिर्जना गर्न सकिने बताएका छन्।
आइतबार काठमाडौंको सामाखुसी लगायत विभिन्न स्थानमा सञ्चालनमा आएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री घिसिङले भने, “चार्जिङमा केही समय लाग्ने भएकाले यात्रुहरूलाई लक्षित गरी वरपर होटल, रेस्टुरेन्ट, कफी सप सञ्चालन गर्न सकिन्छ। यसबाट रोजगारीका अवसर सिर्जना हुनेछन्।”
मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारी साधन (ईभी)मा रूपान्तरण आवश्यक रहेको बताए। उनले चार्जिङ स्टेसन व्यवसायमा लगानीको राम्रो क्षेत्र भएकाले यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने समेत बताए।
उनले थपे, “नेपालमा उत्पादित जलविद्युत् खपत बढाएर पेट्रोलियम आयात घटाउन सकिन्छ। यसले विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्दै अर्थतन्त्रमा योगदान पुर्याउँछ।”
सरकारले विभिन्न नीति तथा योजनामार्फत ईभी प्रयोगलाई प्राथमिकतामा राखेको छ। सन् २०३० सम्म कुल निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत ईभी पुर्याउने लक्ष्य राखिएको छ। सन् २०३५ सम्म क्रमशः ९५ र ९० प्रतिशत पुर्याउने योजना छ।
नेपाल विद्युत् प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ भने निजी क्षेत्रका करिब ८ सय चार्जिङ स्टेसन सञ्चालनमा छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फन्डिङ सहयोगमार्फत दिगो ऊर्जा च्यालेन्ज फन्डमार्फत चार्जिङ स्टेसन स्थापनामा सहयोग गर्दै आएको छ।
केन्द्रले १८ कम्पनीसँग ४५ आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरेको छ।