नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको स्पष्ट पारेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आफू जिम्मेवारीबाट नभाग्ने तर पदलोलुप पनि नभएको सन्देश दिएका हुन् ।
बैठकको सुरुवातमै प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति अत्यन्तै जटिल र संवेदनशील रहेको उल्लेख गर्दै, “इतिहासमा यति विकराल अवस्थामा बैठक बस्नु परेको छ,” भनेका थिए । उनका अनुसार जनयुद्ध र जनआन्दोलनमार्फत सामन्तवादमाथि विजय हासिल भए पनि वैदेशिक प्रतिक्रियावाद र दलाल पुँजीवादमाथि भने अझै विजय प्राप्त गर्न नसकिएको छ ।
नेतृत्वबारे बहस चलिरहेको सन्दर्भमा प्रचण्डले आफू पदमा टाँसिरहन नचाहेको तर जिम्मेवारीबाट पनि भाग्ने पक्षमा नभएको दोहोरो सन्देश दिएका छन् । उनले भने, “म पदलोलुप होइन, तर आन्दोलनबाट निष्क्रिय पनि हुँदैन । परिस्थितिले जिम्मेवारी काँधमा हालिदिएको हो, मैले आफैं मागेको होइन ।”
नेतृत्व हस्तान्तरणको विषयमा उनले भने, “नेतृत्व सधैं अध्यक्षकै हातमा रहनुपर्छ भन्ने होइन । कसैलाई टिको लगाएर नेतृत्व निर्माण हुँदैन । वैज्ञानिक विधि र प्रक्रियाबाट मात्र नेतृत्व हस्तान्तरण हुनुपर्छ ।”
बैठकमा प्रचण्डले पार्टीभित्र उठेका असन्तुष्टि र बाहिर बनेको धारणाबारे पनि प्रष्ट पारे । “कतिपयलाई लाग्छ, प्रचण्डले आफैं पद नछोड्ने वातावरण बनाइराखेका छन् । तर ममा त्यस्तो सोच छैन । परिस्थितिले मागे अनुसार नेतृत्व हस्तान्तरण हुन्छ,” उनले भने ।
उनले हालैको जेनजी आन्दोलनले उठाएका प्रश्नहरू गम्भीर रहेको उल्लेख गर्दै, “जनताले इमान्दार नेताको अपेक्षा गरेका छन् । त्यो पूरा नभएकै कारण दलप्रति वितृष्णा बढेको हो, जसलाई अन्तर्राष्ट्रिय शक्तिहरूले लोकतन्त्र र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने षडयन्त्रमा उपयोग गरिरहेका छन्,” भने ।
पार्टीलाई अझ सुदृढ एकतामा बाँध्दै नयाँ विचार, शैली र अभियानमार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले राष्ट्रिय स्वाधीनता अहिलेजस्तो ठूलो संकटमा इतिहासमा कहिल्यै नपरेको बताए ।
बैठकलाई सम्बोधन गर्दै उनले पदाधिकारीसहित केन्द्रीय समितिलाई अस्थायी रूपमा स्थगित गरी आयोजक समितिमा लैजाने प्रस्ताव पनि राखे । “यसले कम्तिमा पनि माओवादी केन्द्र अरुभन्दा फरक छ भन्ने जनतामाझ सन्देश जानेछ । साथै, नेतृत्व हस्तान्तरणको प्रक्रियागत यात्रा सुनिश्चित हुनेछ,” उनले भने ।