बुधबार बानेश्वरमा बसेको बैठकमा जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न साझा प्रतिनिधि चयन गर्ने निर्णय गरेका छन्। बैठकले सुदन गुरुङ, प्रवेश दाहाल, पुरुषोत्तम यादव, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउद लगायतका सदस्यहरूलाई प्रतिनिधि छनोट गर्ने सहमति गरेको हो।
बैठकमा सहभागी एक जेनजीले भने, “जेनजीको साझा मुद्दा भएकाले प्रतिनिधि चयन गर्ने सहमति भएको हो। प्रतिनिधि समावेशीको आधारमा छनोट हुन्छ।”
कति सदस्य प्रतिनिधि बनाउने भन्ने विषयमा भोलि (बिहीबार) निर्णय गरिने जनाइएको छ। भोलिका लागि जेनजीको भेला बोलाइएको छ। यस भेलामा दलित, जेनजी शहीदको परिवार र घाइतेलाई पनि सहभागी गराइने जानकारी दिइएको छ।
बुधबारको भेलामा विभिन्न समूहका मुख्य प्रतिनिधिहरू सहभागी थिए। आन्दोलनमा धेरै समूह रहेका कारण एउटै एजेन्डा अनुरूप राष्ट्रपति र सरकारसँग वार्ता गर्न साझा प्रतिनिधि छनोट गर्ने सहमति गरिएको हो।
गत २३ र २४ गते भएको आन्दोलनमा जेनजीका फरक–फरक समूहहरू सहभागी थिए। आन्दोलनपछि राष्ट्रपति पौडेलसँग अनौपचारिक वार्ता भए पनि लिखित सहमति भइसकेको छैन। छनोट हुने प्रतिनिधिहरू राष्ट्रपतिसँग लिखित सहमति गर्ने जिम्मेवारी पाउनेछन्।
प्रतिनिधि गठन भएपछि आन्दोलनको म्यान्डेटअनुसार सरकारलाई दबाव दिन काम गर्ने तयारी रहेको जेनजी सदस्यले बताए। बैठकमा सहभागी एक सदस्यले भने, “संसद् विघटन र सुशीला कार्की नेतृत्वको सरकार जेनजी जनआन्दोलनको आधारमा बनेको हो। हामी औपचारिकरुपमा राष्ट्रपतिसँग सम्झौता गर्नेछौं।”
बैठकले वार्ता समितिको नाम ‘जेनजी जनआन्दोलन–२०८२’ राख्ने सहमति पनि गरेको छ।
तर, आन्दोलनमा सहभागी केही जेनजीहरूले भने यसबारे आफूहरूलाई अनविज्ञता व्यक्त गरेका छन्। जेनजी युवा रक्षा बमले भनिन्, “म सहभागी छैन। भेला र समिति बनाउनेबारे मलाई थाहा छैन।” यस्तै, युजन राजभण्डारीले पनि भने, “म भेलामा सहभागी भएको छैन। कस्तो खालको भेला हो थाहा छैन।”