नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल)को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एकता र वर्तमान आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने तथा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार, बैठकले पार्टीभित्र एकता कायम गर्न र वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय कमिटी भंग गर्ने निर्णय गरेको हो। साथै, विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।
विशेष महाधिवेशन आयोजक समितिको संयोजक प्रचण्ड नै हुने पक्का भएको उपाध्यक्ष सापकोटाले दाबी गरे। तर यसबारे फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने उनले बताए।
सापकोटाका अनुसार, अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ गरिने छ।
बैठकले तोकिएको मितिमा निर्वाचन गर्न सरकारलाई ध्यानाकर्षण गराउने र पार्टीले आफ्नो भूमिकालाई यथासम्भव सक्रिय बनाउने निर्णय गरेको छ।
त्यस्तै, जेनजीलगायत परिवर्तनकारी शक्तिहरूसँग संवाद र समझदारी कायम गर्ने, समाजवादी मोर्चा र विचार–कार्यदिशा मिल्ने राजनीतिक शक्तिसँग कार्यगत एकताका लागि प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।