राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि अब मतदाता नामावली संकलनको बाटो खुलेको छ। यससँगै नाम छुटेकाहरूले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
तर, निर्वाचन आयोगले यससम्बन्धी आवश्यक निर्णय गरी नामावली संकलनको मिति तोकेपछि मात्र प्रक्रिया सुरु हुनेछ। आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, “अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरूको नामावली संकलनको बाटो खुलेको हो। त्यसका लागि आयोगले आवश्यक निर्णय गर्नेछ।”
जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते ताजा जनादेशका लागि निर्वाचन गर्ने घोषणा गरिसकेको छ। सामान्यतया निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन रोकिने प्रावधान रहँदै आएको थियो।
तर, राजनीतिक परिवर्तनमा सक्रिय भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको नाम मतदाता नामावलीमा दर्ता नभएकाले उनीहरूलाई मतदान अधिकार दिलाउन अध्यादेशमार्फत कानुनी अवरोध हटाइएको हो।
यसका लागि मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ (क) मा भएको प्रावधान संशोधन गरिएको हो। सो प्रावधानअनुसार, “निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था थियो।
आयोगका अनुसार, यही व्यवस्थाका कारण रोकिएको मतदाता नामावली संकलनलाई अध्यादेशमार्फत पुनः खुलाइएको हो।