भारतीय क्रिकेटर रविचन्द्रन अश्विन अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा सिड्नी थन्डरबाट खेल्ने भएका छन्। यो लिगको इतिहासमा भारतीय खेलाडीले गरेको सबैभन्दा ठूलो सहभागिता मानिएको छ।
३९ वर्षीय अश्विनले सन् २०२५ जनवरी ४ मा संयुक्त अरब इमिरेट्समा सम्पन्न हुने आईएलटी–२० प्रतियोगितापछि थन्डरमा सहभागी हुनेछन्। थन्डरमा उनी डेभिड वार्नर, साम कन्स्टासलगायतका खेलाडीसँग एउटै टोलीबाट मैदानमा देखिनेछन्।
हालै अश्विनले इण्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्यास लिँदै अन्य टी–२० लिगमा खेल्ने बाटो खुलेको छ। आईपीएलमा अश्विन हालसम्म पाँचौं सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले १८७ विकेट लिएका छन्।
अश्विनले यस वर्षको बीबीएल विदेशी खेलाडी छनोटमा नाम नदिएकाले खेल्नका लागि क्रिकेट अस्ट्रेलियाबाट विशेष अनुमति लिनुपर्नेछ।
सिड्नी थन्डरले यसअघि नै लकी फर्ग्युसन (न्यूजिल्यान्ड), शादाब खान (पाकिस्तान) र साम बिलिङ्स (इङ्ल्यान्ड) लाई अनुबन्ध गरिसकेको छ। अश्विनले क्रिस ग्रिन, टम एन्ड्रुज र तन्मय सङ्घासँग मिलेर बलियो स्पिन आक्रमण निर्माण गर्नेछन्।
आउँदो जनवरी १६ मा हुने सिड्नी डर्बी मा अश्विनले बाबर आजम र स्टीभ स्मिथसहितको सिक्सर्सविरुद्ध पनि खेल्ने सम्भावना रहेको छ।
बीबीएलमा खेलेका पहिलो भारतीय खेलाडी उन्मुक्त चन्द हुन्। उनले २०२१/२२ मा मेलबर्न रेनेगेड्सबाट दुई खेल खेलेका थिए।
यस वर्षको बीबीएल डिसेम्बर १४ देखि सुरु हुँदैछ।