दशैं हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्व हो । यो वर्ष भोलिदेखि दशैं शुरू हुँदैछ । यसोत नेपालमा सबै सम्प्रदायका चाडपर्वलाई समान हैसियत प्राप्त छ । ८० प्रतिशत हिन्दूहरूको बसोबास रहेकाले नेपालमा यो पर्वलाई सांस्कृतिक, सामाजिक र आर्थिक सरोकारहरूको अभिवृद्धिका दृष्टिले महत्वपूर्ण मानिन्छ ।
पारिवारिक पुनर्मिलन, सामाजिक र साम्प्रदायिक सद्भाव र उपभोगका कारण हुने आर्थिक क्रियाकलापले अर्थतन्त्रलाई चलायमान बनाउने पर्व हो, दशैं । वर्षभरिको कारोबारमा ५० प्रतिशतजति दशै र तिहारजस्ता पर्वमा हुने व्यवसायीहरू बताउँछन् । तर, यस पटक दशैंको मुखैमा भएको जेनजी आन्दोलन र उत्पन्न परिस्थितिले बजारमा अपेक्षित उत्साह देखिएको छैन ।
‘सडक विद्रोहबाट सत्तापलट भएर अन्तरिम सरकार बने पनि अब के हुने हो भन्ने आशंका मडारिएको छ । मुख्य प्रशासनिक संरचनाहरू ध्वस्त भएका छन् । निजीक्षेत्रको सम्पत्तिमाथि आगजनी र लुटपाट भएको छ । यसले बजारको ‘मोरल’ नै गिरेको छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम बताउँछन् ।
कोराना महामारीयता बिथोलिएको बजारको लय पछिल्लो आन्दोलनबाट झन अन्योलग्रस्त भएकाले यस पटकको दशैंलक्षित बजारमा उत्साह नदेखिएको सरोकारका पक्षले बताएका छन् । वीरगञ्जको आदर्शनगरमा एफएमसीजीे कारोबार गर्दै आएका फन एण्ड फनका सञ्चालक बृजेश टेमानी बजारमा रौनक नदेखिएको बताउँछन् ।
‘कोरोनापछि नै बजारमा माग घट्न थालेको हो । अहिले आन्दोलनले त्यसलाई झन पछाडि धकेल्ने काम ग¥यो । त्यसमाथि व्यापारी र आम उपभोक्ता अन्योल देखेर सशंकित भएका छन् । उपभोक्ताले कुनै बस्तु किन्नुअगाडि दश पटक सोच्न थालेको छ । यसले बिक्री कम हुने देखिन्छ,’ टेमानीको अनुभव छ ।
दशैंमा अन्य पर्वको तुलनामा लामो बिदा हुने भएकाले उपभोगमा आधारित आर्थिक क्रियाकलापहरू वृद्धि हुन्छ । एउटा नेपालीले १०० रुपैयाँ कमाउँदा ९० रुपैयाँ उपभोगमा खपत गर्दछ । यस्तो उपभोगको आपूर्ति अधिकांश आयातित बस्तुबाटै हुन्छ । आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउनुपर्ने सुझाव विज्ञहरूको छ ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा यतिबेलै विद्युत् आपूर्ति बन्द भएपछि स्थानीय उद्योगले उत्पादन गर्न नपाएको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बताएका छन् । ‘दैनिक उपभोग्य बस्तुदेखि निर्माण सामग्रीको समेत माग बढ्ने समय हो यो । तर, देशकै ठूलो औद्योगिक कोरिडोरमा अहिले विद्युत् आपूर्ति ठप्प भएपछि उद्योगको उत्पादन बन्द भएको छ,’ राजपालले भने । नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर जलेर विद्युत् आपूर्ति बन्द भएको छ ।
चाडपर्वमा पहिलो प्राथमिकतामा खाद्यान्न पर्ने गरेको छ । भान्सामा प्रयोगमा आउने दैनिक उपभोग्य बस्तुहरू नुन, चिनी, तेल, चामल, पिठो, गेडागुडी, तरकारी पहिलो प्राथमिकतामा पर्दछन् । एलपी ग्यासको खपत पनि अधिक मात्रामा हुने उत्पादकहरू बताउँछन् । त्यसपछि लत्ताकपडा, फलफूल, किसमिस, चकलेट र पेय पदार्थ पर्दछन् ।
बिजुली बत्ती, रङ, गरगहना, सरसफाई सामग्री, सजावटका बस्तु, मोबाईल, टेलिभिजन, ल्यापटप, फ्रिज, वासिङ मेसिन, सवारी साधन आदि सामाग्रीहरूको पनि खरिद हुन्छ ।
नेपालीहरूको उपभोग प्रवृत्ति र अर्थतन्त्रको संरचनाका आधारमा आन्तरिक उत्पादनभन्दा आयातीत बस्तुहरूको माग धेरै छ । आन्तरिक उत्पादनलाई समयानुकूल विविधीकरण गर्न नसकिएको उद्यमीहरू नै बताउँछन् ।
राजस्वको प्रमुख स्रोत आयातमा लागाइने भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क समेत दशैंको आयातमा धेरै वृद्धि हुने भन्सार अधिकारी बताउँछन् । देशकै ठूलो नाका वीरगञ्जबाट चाडपर्वलक्षित सामानहरु भित्रिन थालिसकेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए । ‘अहिले नियमित रुपमा आयात हुनेबाहेक तयारी कपडा, लक्ष्मीपूजाका सामग्री, मदिरा, नयाँ सवारी साधनजस्ता चाडपर्वलक्षित मालसामान भित्रिने क्रम बढेको छ,’ उनले भने ।