स्वास्थ्य कार्यालयले केही समयअघि नियन्त्रणमा आएको बताएको हैजा र झाडापखालाको संक्रमण फेरि बढ्न थालेको छ। शनिबारदेखि सोमबारसम्म मात्रै जिल्लाभर ८८ नयाँ संक्रमित फेला परेको जनाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबार २७, आइतबार ३३ र सोमबार २८ जना नयाँ विरामी दर्ता भएका छन्। हालसम्म कुल १,५१२ जनामा झाडापखाला वा शंकास्पद हैजाको संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये १,४७९ जना उपचारपछि घर फर्किसकेका छन् भने ३३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्। पछिल्लो एक महिनामा २४० जनामा हैजा पुष्टि भएको छ र अहिले ४ जना मात्र अस्पतालमा उपचाररत रहेका छन्।
हटस्पटमा संक्रमण पुनः सक्रिय
वीरगन्ज महानगरपालिका–१५ लाई हैजाको मुख्य ‘हटस्पट’ क्षेत्र मानिएको छ। भदौ ६ गते पहिलोपटक यहाँका बिरामीमा हैजा देखिएको थियो। सरकारी निकायको सक्रियतापछि संक्रमण केही समय नियन्त्रणमा आएको भए पनि जेनजी आन्दोलनपछि स्वास्थ्य टोलीको गतिविधि सुस्त हुँदा संक्रमण फेरि बढ्न थालेको छ।
पियुस प्रयोग नगर्नेलाई कारण ठहर
जनस्वास्थ्य कार्यालयका अनुसार खानेपानीमा पियुस (कोलोरिन) मिसाएर मात्र सेवन गर्न भनिए पनि धेरैले प्रयोग नगरेका कारण संक्रमण फैलिएको हो। “डीप बोरिङको पानीमा पियुस मिसाउँदा सन्तान नहुने भन्ने भ्रमका कारण मानिसहरूले औषधि प्रयोग नगरी पानी सेवन गरिरहेका छन्,” जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।
धार्मिक गुरुहरूलाई अभियानमा लगाउने तयारी
जनचेतना अभावलाई समाधान गर्न स्वास्थ्य कार्यालयले नयाँ रणनीति तयार पारेको छ। मंगलबारदेखि धार्मिक गुरुहरूलाई समुदायमा पठाएर पियुस प्रयोग गर्न आग्रह गरिने योजना छ। स्वास्थ्यकर्मीका अनुसार डीप बोरिङ र खानेपानी संस्थानको पानीमा प्रदूषण बढेको छ, जसले हैजा फैलिने जोखिम अझ बढाएको छ।
जनस्वास्थ्य कार्यालयले हरेक घरमा पियुसको नियमित प्रयोग र सुरक्षित खानेपानीको सुनिश्चितता नै हैजा नियन्त्रणको दीर्घकालीन समाधान भएको जनाएको छ।