नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटबारे छानबिन हुनुपर्ने बताएका छन्। उनले भने, “अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुको सट्टा, अनुसन्धानको नतिजालाई स्वीकार गर्नुपर्छ।”
जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासमा सोमबार पुगेका महामन्त्री शर्माले पत्रकारहरूसँगको कुराकानीमा देउवा निवासमा देखिएको विषयमा राज्यका निकायले अनुसन्धान गरिरहेको बताए।
यसअघि जेनजी आन्दोलनका क्रममा आगजनी भएको सभापति देउवाको निवासमा डढेका नोटहरू फेला परेको भिडियोहरू सार्वजनिक भएका थिए।
महामन्त्री शर्माका अनुसार, यो विषय कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमा पनि उठाइएको थियो। पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले सभापति निवासमा भेटिएको नोटबारे प्रश्न उठाएका थिए। उनले त्यतिबेला पनि यस विषयमा स्पष्ट पार्ने दायित्व सम्बन्धित व्यक्तिको भएको बताएका थिए।
शर्माले भने, “यो विषय वस्तुगत अनुसन्धान राज्यले गर्नुपर्छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायहरूले अनुसन्धान गरिरहेका छन्। निष्पक्ष अनुसन्धानबाट आएको जे नतिजा हुन्छ, त्यसलाई हामीले स्वीकार्नुपर्छ।”
महामन्त्री शर्मा अनुसार, उनले सभापतिसँग फोन सम्पर्क गरी यस विषयमा ध्यानाकर्षण पनि गराइसकेका छन्। उनले जोड दिए, “स्पष्ट गर्ने दायित्व घरवालाकै हो। राज्यले अनुसन्धान गरेर नै सत्यता पत्ता लगाउनुपर्छ। अनुमानका भरमा कुरा गर्नु गलत हुन्छ।”
सम्पत्ति शुद्धीकरण विभागले जलेका नोटको विषयमा अनुसन्धान गरिरहेको छ भने, सभापति देउवाको सचिवालयले भेटिएको भनिएको तस्बिर र भिडियो वास्तविक नभएको बताएको छ।
पार्टी र सभापतिको स्वास्थ्यप्रति ध्यान
महामन्त्री शर्माले पार्टी र सभापति देउवाको स्वास्थ्य अत्यावश्यक भएको बताएका छन्। नेतृत्व परिवर्तनसम्बन्धी प्रश्नमा उनले भने, “संकटको समयमा पार्टीलाई उठान गर्नुपर्छ, त्यसैगरी सभापतिको स्वास्थ्यप्रति पनि संवेदनशील हुनुपर्छ।”
उनले थपे, “सभापतिजीको स्वास्थ्य लाभ हुँदैछ, त्यसमा शुभभाव राख्नु आवश्यक छ। कांग्रेसको स्वास्थ्य लाभ पनि उत्तिकै प्राथमिकतामा राखेर अघि बढ्नु जरुरी छ।”
पार्टी नयाँ ढंगले अघि बढ्ने
महामन्त्री शर्माले पार्टी नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने बताएका छन्। उनले भने, “कोइराला निवासको माटोमा उभिएर भन्छु, हामी नयाँ ढंगले अघि बढ्नेछौं, मुलुकको अवस्था सम्हाल्नेछौं र नयाँ सम्भावनातिर लैजान कृतसंकल्पित छौं।”