निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आन्दोलनका क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश आफूले नदिएको दाबी गरेका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो। तीमध्ये अधिकांशको मृत्यु टाउको र छातीमा गोली लागेर भएको प्रतिवेदनमा उल्लेख छ। उक्त आन्दोलनपछि सरकार छाड्न बाध्य भएका ओली सैनिक व्यारेकमा नौ दिन बसेर बिहीबार भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा सरेका हुन्।
संविधान दिवसको अवसरमा शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा ओलीले आन्दोलनका क्रममा ‘प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली प्रहार भएको’ भन्दै घटनाको छानबिन आवश्यक भएको बताए।
उनले भने, “गत साता शान्तिपूर्ण हुने भनिएको जेनजी प्रदर्शनमा घुसपैठ भयो। षड्यन्त्रकारीहरूले हिंसा मच्चाए र हाम्रा युवाको ज्यान गयो। सरकारले ताकीताकी गोली हान्ने आदेश दिएको थिएन।”
ओलीले संविधान दिवसको सन्दर्भमा नेपालको संविधान नेपाली जनताकै संघर्ष र बलिदानको परिणाम भएको भन्दै यसको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “हामी अहिले संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौं। सिंहदरबारदेखि न्यायालय, राजनीतिक दलका कार्यालय र नागरिक सम्पत्तिसम्म जलाइएका छन्। यसका पछाडिको षड्यन्त्र समयले प्रस्ट पार्नेछ।”
दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओलीले घाइतेहरूको स्वास्थ्यलाभको शुभकामना व्यक्त गरे। साथै उनले संविधान र सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई अपील गरे।