निर्वाचन आयोगले आगामी निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न पूर्ण तयारी गरिसकेको जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार नवनियुक्त गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई स्वागत कार्यक्रममा बोल्दै आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको बताएका हुन्।
निष्ठामाथि प्रश्न नउठ्ने प्रतिबद्धता
आयुक्त भण्डारीले निर्वाचन आयोगलाई कामबाट पन्छिने छुट नभएको उल्लेख गर्दै आयोगको निष्ठामाथि प्रश्न उठ्ने ठाउँ नदिने स्पष्ट पारे।
उनले भने, “काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन। आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार छ। त्यसका लागि आवश्यक पूर्वतयारी सुरु भइसकेको छ। सबै जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा तयारी पूरा भइसकेको छ, कर्मचारीहरू खटिइसक्नुभएको छ।”
राजनीतिक दल र उम्मेदवारलाई समान अवसर
भण्डारीले कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई निर्बाध प्रचार–प्रसार गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले आयोग स्वच्छ, निष्पक्ष, भयरहित र मितव्ययी निर्वाचन गराउनेतर्फ प्रतिवद्ध रहेको स्पष्ट गरे।
चुनौती र सुरक्षा अवस्था
भण्डारीका अनुसार मुलुकमा शान्ति–सुरक्षाको अवस्था खल्बलिएको छ। सुरक्षाकर्मी बस्ने कतिपय भवन छैनन् भने प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयसमेत क्षतविक्षत अवस्थामा छन्। यस्ता चुनौतीबीच पनि आयोगले निर्वाचन निर्विघ्न सम्पन्न गर्ने विश्वास व्यक्त गरे।
अध्यादेश आवश्यक
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याएमा कानूनी बाधा हट्ने र मतदाता नामावली संकलनसहित अन्य कार्यहरू सहज हुने बताए।
उनले निर्वाचन आयोगको प्रतिबद्धता स्पष्ट गर्दै भने, “हामी पूर्ण तयारीमा छौं। आयोगको निष्ठामा कसैले शंका गर्न सक्ने अवस्था रहदैन।”