जनमत पार्टीका ६ जना नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्षको कार्यशैली र युवा आन्दोलनप्रति उनले लिएको अडानप्रति असहमति जनाउँदै उनीहरूले एकैसाथ राजीनामा दिएका हुन्।
राजीनामा दिने नेतामा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन्।
यी नेताहरूले पार्टी अध्यक्षले ‘जेनजी पुस्ताले बगाएको रगतको अपमान’ गरेको आरोप लगाउँदै राजीनामा दिएका हुन्। उनका अनुसार, नेतृत्व परिवर्तनका लागि आत्मआलोचना गर्न माग गर्दा अध्यक्षले त्यसलाई बेवास्ता गरेका र उल्टै सामाजिक सञ्जालमार्फत ‘अहंकारपूर्ण भाषा’ प्रयोग गर्दै नेता–कार्यकर्तालाई सम्बोधन गरेकोले आफूहरू आक्रोशित बनेका हुन्।
राजीनामा पत्रमा उनीहरूले भनेका छन्,
“हामीले माग गरेको राजीनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजी पुस्ताले बगाएको रगतको अपमान गर्नुभएको छ। यही कारणले आजकै मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी हामीले राजीनामा दिएका छौँ।”
राजीनामा दिने नेताहरूले आफूहरू कुनै पद–स्वार्थको राजनीतिमा नरहेको स्पष्ट गर्दै, नयाँ पुस्ताको चाहना र जनभावनाअनुसार अगाडि बढ्न प्रतिवद्धता जनाएका छन्। साथै, लामो समयदेखि साथ र सहयोग गर्ने जनमत पार्टीका शीर्ष नेतृत्वदेखि सम्पूर्ण कार्यकर्ताप्रति आभार प्रकट गरेका छन्।
