शारजाहमा यसै महिना आयोजना हुने ऐतिहासिक युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि वेस्ट इन्डिजले नयाँ खेलाडीलाई प्राथमिकता दिएको छ। नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजका लागि वेस्ट इन्डिजले १५ सदस्यीय टोली घोषणा गरेको हो।
यस पटक वेस्ट इन्डिजले आफ्ना धेरैजसो मुख्य खेलाडीलाई आराम दिने निर्णय गरेको छ। कप्तान शाई होप, तीव्र गतिका बलर अल्जारी जोसेफ र ब्याट्सम्यान जोनसन चार्ल्सजस्ता अनुभवी खेलाडी यस सिरिजमा नखेल्ने भएका छन्। टोलीको कप्तानी स्पिनर अकील हुसेनले गर्नेछन् भने नियमित खेलाडी फाबियन एलेन, जेसन होल्डर र काइल मेयर्स टोलीमा समावेश छन्।
सिरिजमा पाँच खेलाडीले टी–२० अन्तर्राष्ट्रिय डेब्यू गर्ने सम्भावना रहेको छ। नयाँ अनुहारमा ब्याट्सम्यान अकेम अगस्टे, अलराउन्डर नविन बिदैसी, स्पिनर जिशान मोतारा, तीव्र गतिका बलर रामोन सिमोन्ड्स र विकेटकिपर आमिर जन्गु छन्।
क्रिकेट वेस्ट इन्डिजका क्रिकेट निर्देशक माइल्स बास्कम्बले यो सिरिजले टोलीलाई आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपअघि आफूलाई प्रमाणित गर्ने अवसर दिने बताए। उनका अनुसार यो सिरिजले वेस्ट इन्डिज क्रिकेटलाई फराकिलो बनाउन, नयाँ प्रशंसकलाई आकर्षित गर्न र फरक परिस्थितिमा अनुभव लिन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
वेस्ट इन्डिज टोली
अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा, रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।
सिरिजको तालिका
- पहिलो टी–२० : असोज ११, शारजाह
- दोस्रो टी–२० : असोज १३, शारजाह
- तेस्रो टी–२० : असोज १४, शारजाह
यसैबीच, नेपालले पनि सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ। यो नेपालका लागि ऐतिहासिक अवसर मानिएको छ, किनभने यसअघि नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग टी–२० सिरिज खेलेको थिएन।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।
नेपालले यो सिरिजलाई आगामी ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका रूपमा लिएको छ। वेस्ट इन्डिजसँग खेल पूरा गरेपछि नेपाली टोली त्यहीँबाट ओमान जानेछ। नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली बन्न सके नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा प्रवेश गर्नेछ।