नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा हालैका आन्दोलनका क्रममा मिडिया हाउसहरूमा आगजनी, तोडफोड तथा पत्रकारमाथि आक्रमण भएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघका अध्यक्ष निर्मला शर्माले बिहीबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “अहिले देशभर पत्रकारहरूले असुरक्षित महसुस गरिरहेका छन्। ४ जना पत्रकार गोली लागेर घाइते भएका छन्। धेरै मिडिया हाउसहरूमा आगजनी र आक्रमण भएका छन्। जनतालाई सुसूचित गर्न, शान्ति र लोकतन्त्रका लागि निरन्तर क्रियाशील हुने पत्रकार र मिडियालाई आन्दोलनको निसाना बनाइएको छ।”
महासंघले पीडित मिडिया हाउस र पत्रकारलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। साथै, जेनजी पुस्ताले उठाएका मागहरू गम्भीर विमर्शमार्फत सम्बोधन गर्न जरुरी रहेको ठहर जनाएको छ।
शान्तिपूर्ण समाधान र राष्ट्रपतिको भूमिका
विज्ञप्तिमा संक्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधान खोज्नुपर्ने उल्लेख गर्दै महासंघले राष्ट्रपतिको नेतृत्वमा संविधान र राजनीतिक प्रक्रियामार्फत निकास निकाल्न आग्रह गरेको छ।
“राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो। अन्य सरकार निर्माणलगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्ने र जंगी अड्डाबाट निकास खोज्न नहुने स्पष्ट पारेको छ।
संरचनात्मक सुधार र लोकतान्त्रिक उपलब्धि
जेनजी पुस्ताले उठाएका संरचनात्मक सुधारका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्न र थप उपलब्धि हासिल गर्न आवश्यक रहेको महासंघले जनाएको छ।

