नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरूले उठाएका मागहरू संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै समाधान गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले वर्तमान संविधान र व्यवस्थापिकाको शून्यतालाई आधार बनाएर खोजिने राजनीतिक निकास अन्ततः प्रतिगमनलाई फाइदा पुग्ने चेतावनी दिएका छन्।
“लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र”
उनले भनेका छन्, “हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र हो। गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो। जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै। उहाँहरूले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।”
विज्ञप्तिमा थप भनिएको छ, “कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय र समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरूले निर्माण गरेको यो संविधान तुलनात्मक रूपमा उत्कृष्ट संविधान हो। त्यसैले संक्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाले हुनुपर्छ। संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने निकास अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्याउनेछ।”
संविधान संशोधनको पक्षमा
प्रचण्डले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको गम्भीर समीक्षा आवश्यक रहेको बताए। समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी हुने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै समुन्नत लोकतन्त्रको विकास सम्भव हुने उनको भनाइ छ।
उनले थपे, “यो पक्षलाई अत्यन्त संवेदनशील र गम्भीरतापूर्वक लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति तय गर्ने विश्वास लिएका छौं।”