निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लागि पद वा प्रतिष्ठाभन्दा अहिलेको व्यवस्था जोगाउनु नै सबैभन्दा महत्त्वपूर्ण भएको बताएका छन्।
एमाले निकट प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले बुधबार ओलीले राजधानी नजिकैको शिवपुरीबाट जेन जेड युवालाई लेखेको पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उक्त पत्रमा ओलीले व्यवस्थाको विषयमा कुनै सम्झौता नहुने दाबी गरेका छन्।
आन्दोलन र ओलीको राजीनामा
ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सुरू भएको आन्दोलन भ्रष्टाचारविरुद्धको जनआन्दोलनमा रूपान्तरित भएको थियो। सोमबारदेखि सुरू भएको प्रदर्शन देशव्यापी बनेपछि हालसम्म दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्।
मंगलबार आन्दोलन चर्किएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनलाई नेपाली सेनाले हेलिकप्टरमार्फत बालुवाटारबाट शिवपुरीस्थित सुरक्षित स्थलमा लगेको थियो। त्यही शिवपुरीबाट उनले “प्रिय जेनजी बाबुनानीहरू” भन्दै पत्र सार्वजनिक गरेका हुन्।
‘व्यवस्था नै मेरो जीवनको मूल उद्देश्य’
पत्रमा ओलीले निजी सम्पत्ति सबै राज्यका नाममा दिएकाे उल्लेख गर्दै भनेका छन्, “मेरो लागि पद वा प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने कुरा मेरा लागि ठूलो होइन। तर यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई जोगाउनु नै मेरो जीवनको मूल उद्देश्य हो।”
उनले देशका कार्यालयहरूमा आगजनी, कारागारबाट कैदी छुटाउनेजस्ता गतिविधिमा गहिरो षड्यन्त्र रहेको पनि दाबी गरेका छन्। जेनजी युवाहरूको भावनामाथि खेलेर आन्दोलनलाई हिंसात्मक बनाइएको आरोप उनले लगाएका छन्।
शान्ति र ‘जिद्दीपन’को पक्षमा ओली
ओलीले आफू सधैं शान्तिको पक्षमा उभिएको स्मरण गर्दै २०५१ सालमा गृहमन्त्री हुँदा आफ्नो कार्यकालमा राज्यतर्फबाट गोली नचलेको उदाहरण दिएका छन्। उनले भने, “मैले आफ्नै जीवनमा हिंसाको क्रुरता भोगेको भएकाले समाजमा शान्ति स्थापित हुनुपर्छ भन्नेमा विश्वास राख्छु।”
त्यसैगरी, सीमावर्ती भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको दाबी गर्नेदेखि सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने अडानसम्मका विषयमा आफू जिद्दी बनेको उल्लेख गर्दै उनले भनेका छन्, “मेरो स्वभावको यही जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्न सक्दिनथेँ।”
पत्रको अन्त्यमा उनले व्यवस्थाको रक्षा गर्न जेनजी पुस्तालाई संवेदनशील बन्न आग्रह गरेका छन्।