पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा जारी कर्फ्यु आदेशको समय थप गरेको छ।
हिजो बेलुका ९ बजेदेखि आज बिहान ९ बजेसम्म लागू गरिएको कर्फ्युलाई फेरि विस्तार गर्दै आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि निरन्तरता दिइएको हो।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको आदेशअनुसार, कर्फ्यु स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको हो। कर्फ्यु अवधिभर तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ निषेध गरिएको छ। साथै सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ।
कर्फ्यु लागू हुने सीमा क्षेत्र
पूर्व : बाईपास रोड
पश्चिम : सिर्सिया पुल
उत्तर : गण्डक चोक
दक्षिण : शंकराचार्य गेट
जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदीले जारी गरेको सूचनामा अत्यावश्यक सेवामा संलग्न सवारी साधनलाई भने छुट दिइएको स्पष्ट गरिएको छ। यसअनुसार, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई सुरक्षाकर्मीले सहजै आवतजावत गर्न दिनेछन्। यस्तै, हवाई टिकट देखाउने यात्रुलाई समेत आवश्यक आवतजावतको अनुमति प्रदान गरिएको छ।
