सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामाजिक सञ्जाल पुन: सञ्चालनमा ल्याउन सकारात्मक दृष्टिकोण राखेका छन्।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जेनजीले उठाएका मुद्दा सुनाउन र सामाजिक सञ्जाल खोल्न सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्। सोमबार डेढ घन्टासम्म बूढानीलकण्ठमा सभापति देउवासँग भेटेका महामन्त्रीद्वयले जेनजी पुस्ताको भावना आत्मसाथ गरी सरकार सकारात्मक रूपले प्रस्तुत हुनुपर्ने कुरा उठाएका थिए।
महामन्त्री शर्माका अनुसार, "सरकारले जेनजीले उठाएका मुद्दाहरू गम्भीरतापूर्वक सुन्नुपर्ने छ। असन्तुष्टिको रापमा स्वार्थको रोटी सेक्ने अवसर कुनै पनि अवसरवादीलाई दिन हुँदैन, त्यसैले बेलैमा जेनजीका कुरा सुनौं।"
सरकारले गत बिहीबारदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको थियो। यसले नागरिकहरूको अभिव्यक्तिको स्वतन्त्रता सीमित मात्र नभई व्यापार, व्यवसाय, संगीत उद्योग, विद्यार्थीहरू र विदेशमा रहेका परिवारसँगको सम्पर्कमा समेत प्रभाव पारेको छ।
महामन्त्रीद्वयले सभापति देउवालाई भन्नुभयो कि जेनजीको भावना आत्मसाथ गर्न सरकार सकारात्मक हुनुपर्नेछ र काठमाडौंसहित देशभर हुने प्रदर्शनमा कुनै हिंसा हुन नदिन दुवै पक्ष संयमित रहनुपर्नेछ।
सभापति देउवाले सामाजिक सञ्जाल खोल्न सकारात्मक रहेको बताउँदै भन्नुभयो, "म पहिला हाम्रा मन्त्रीजीहरूसँग कुरा गर्छु, त्यसपछि प्रधानमन्त्रीजीसँग कुरा गर्छु।"
यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध भएको थियो। सभापति देउवा शनिबार विराटनगरमा पत्रकारहरूसँगको संवादमा सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोजेको नभएको र दर्ता प्रक्रियामा आउन आग्रह गरेको बताउनुभएको थियो।
महामन्त्रीद्वयले सभापति देउवासँग राखेको सुझाव अनुसार, "कूटनीतिक प्रक्रियामार्फत सरकार स्वयं तदारूक भएर सम्पर्क स्थापित गरी दर्ता प्रक्रियामा ल्याउन सक्षम हुनुपर्छ।"