वीरगञ्ज महानगरपालिकामा समुदायस्तरमै हैजाको संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र महानगरपालिकासहित राज्यका तीनै तह सक्रिय भएर रोकथाममा जुटेका छन्।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली आइतबारदेखि नै वीरगञ्ज परिचालित छ र उनीहरूले हैजा नियन्त्रण तथा रोकथामका गतिविधि नजिकैबाट अनुगमन गरिरहेका छन्।
सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरू सहभागी थिए। छलफलमा मेयर विजय सिंहले हैजा प्रभावित क्षेत्रमा जथाभावी औषधिजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिएका छन्। उनले हैजालाई ‘हौवा’ बनाएर व्यापार नगर्न सबैसँग आग्रह गरेका छन्।
मेयर सिंहले निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास देखिएको भन्दै सरकारले नै परीक्षण किट निःशुल्क उपलब्ध गराउने स्पष्ट पारे।
स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, निजी स्वास्थ्य संस्थाले झाडापखाला जन्य रोगको उपचारमा समान मापदण्ड अपनाउनुपर्ने बताए। महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र त्यहाँ आईसीयूमा उपचाररत बिरामीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी पनि दिइयो।
स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको स्पष्ट पारे।