“हामी आत्तिनु पर्ने अवस्थामा छैनौं, हैजा नियन्त्रणमा छ र आवश्यक सबै उपायहरू अपनाइरहेका छौं।” वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हैजाको प्रकोप फैलिँदै गरेको समयमा महानगरका सबै कर्मचारीलाई सतर्क र संयमित भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
मेयर सिंहले हालको अवस्था आत्तिने नभई धैर्य र सामूहिक प्रयासमार्फत नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आह्वान गर्नुभयो। उहाँले बिरामी भेटिँदै लगत्तै उपचारमा ढिलाइ हुन नदिन महानगरभित्रका सबै अस्पताललाई आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी दिए ।
महानगरले हैजाबाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको विशेष टोली परिचालन गरेको छ। ती टोलीले घर–घर पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिन, सम्भावित संक्रमितको पहिचान गर्न, आवश्यक परामर्श दिने र सरसफाइ सम्बन्धी सचेतना फैलाउने काम तीव्रतापूर्वक गर्दैछ।
मेयर सिंहले सबै कर्मचारीलाई सचेतनामूलक सन्देश फैलाउन, नागरिकलाई स्वच्छ पानी पिउन, तरकारी–खाद्यपदार्थ राम्ररी धुने र पकाउने, तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आह्वान गरे ।
त्यस्तै, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले पनि हैजा नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिए । उनले कर्मचारीहरूले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निभाउनुपर्नेमा जोड दिनुका साथै समन्वय, सूचना आदानप्रदान र तत्कालीन उपचार व्यवस्थामा कुनै कमी नहुने प्रतिवद्धता व्यक्त गरे।
महानगरले हेल्प डेस्क स्थापना, जोखिमयुक्त क्षेत्रमा नियमित अनुगमन, पानीको नमूना परीक्षण र सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउने कदम चालेको जनाएको छ।