वीरगञ्जमा खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएको आशंकाका कारण हैजाको संक्रमण फैलिएको हुनसक्ने भन्दै स्थानीय स्वास्थ्य अधिकारीहरूले सतर्कता अपनाएका छन्। संक्रमण देखिएका ११ विभिन्न स्थानबाट पानीका नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।
खानेपानी मन्त्री प्रदीप यादवले भने, “हामीले पाइएको प्रारम्भिक सूचनाका आधारमा दूषित पानीको सम्भावना देखिएको छ। यही कारणले स्थानीयमा हैजाको प्रकोप देखिन सक्ने अवस्था आएको हुनसक्छ। परीक्षण रिपोर्ट प्राप्त भएपछि मात्रै स्पष्ट जानकारी दिन सकिनेछ।”
वीरगञ्ज महानगरपालिकाले समुदायस्तरमा फैलिरहेको हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सबै शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा आइतबार र सोमबार विद्यालयहरूको पठनपाठन स्थगित गरिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन्। उनले भने, “वडा नं. ११, १२, १३ र १६ मा हैजा देखिएको छ। मुर्ली टोल (वडा नं. १२) बाट सुरु भएको संक्रमण विस्तारै चार वडासम्म पुगेको छ।”
हैजा रोग मुख्यतया दूषित खाना वा पानी मार्फत फैलिने भिब्रियो कोलरी जीवाणुको कारण देखिन्छ। रोगका लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, शरीरमा पानी कमी, मांसपेसी दुख्ने र ज्वरो हुने जस्ता समस्या देखिन्छ। उपचार नपाएमा मृत्युको जोखिम पनि रहन्छ।
अधिकृत ठाकुरका अनुसार दुई जना बिरामीको मृत्यु भएको छ। उनीहरूमा झाडापखलाका लक्षण देखिएका थिए, तर यसलाई प्रत्यक्ष हैजाको कारण भनेर पुष्टि गरिएको छैन।
ठाकुरले थपे, “२८ साउनमा मुरली क्षेत्रका केही स्थानीयमा झाडापखलाका प्रारम्भिक लक्षण देखिएका थिए। आरडीटी परीक्षणपछि हैजा पुष्टि भयो। यो महामारीको स्वरूप नै हो।”
पानीका नमुना परीक्षणको रिपोर्ट आउनासाथ स्थानीय प्रशासनले आवश्यक कदम चाल्ने योजना बनाएको छ।