अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार भएको पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो। रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन जोडे।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा केवल १७ रन खर्च गर्दै ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले समान १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाएका थिए। आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन जोडे। लोकेश बमले १६ बलमा २४ रन बनाउँदै टोलीलाई मजबूत योगदान दिए। भीम सार्कीले १७ रन बनाएका थिए भने आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए।
रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिए।
नेपालले अहिलेसम्म खेलेका ५ खेलमध्ये सुरुका ३ खेलमा लगातार हार भोगेको थियो। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। तर, चौथो खेलमा नेपालले होबार्टलाई ६६ रनले हराउँदै पहिलो जित हासिल गरेको थियो।
हाल नेपाल ५ खेलमा ४ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ। सिरिजमा शीर्ष ४ टोली सेमिफाइनल खेल्नेछन्। नेपालले आफ्नो अर्को खेल शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।